स्वास्थ्य
शरीरमा देखिने यी संकेतले दिन सक्छन् भिटामिन बी–१२ कमीको जानकारी

काठमाडौँ, असार १३-
शरीरलाई स्वस्थ राख्न आवश्यक पर्ने विभिन्न पोषक तत्वमध्ये भिटामिन बी–१२ पनि एक महत्त्वपूर्ण माानिन्छ । यसले शरीरमा डीएनए निर्माण, ऊर्जा उत्पादन र केन्द्रीय स्नायु प्रणालीलाई सही रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । तर, शरीरमा यसको मात्रा कम हुँदा विभिन्न प्रकारका शारीरिक तथा मानसिक समस्या देखिन सक्छन् ।
धेरै खानेकुरामा भिटामिन बी–१२ पाइने भए पनि यसको कमी हुने समस्या विश्वभर सामान्य देखिन्छ । विशेषगरी उमेर बढ्दै जाँदा शरीरले खानेकुराबाट बी–१२ अवशोषण गर्ने क्षमता घट्ने भएकाले वृद्धवृद्धामा यसको जोखिम बढी हुने गर्छ ।
अध्ययनहरूका अनुसार, अमेरिका र बेलायतमा ६० वर्षभन्दा माथिका करिब २० प्रतिशत मानिसमा भिटामिन बी–१२ को कमी देखिएको छ । यसको मुख्य कारण खानपानमा कमी, शरीरले भिटामिन सोस्न नसक्नु, केही स्वास्थ्य समस्या वा बी–१२ को मात्रा घटाउने औषधिको प्रयोग हुन सक्छ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, भिटामिन बी–१२ को कमीलाई समयमै पहिचान गर्न नसक्दा समस्या बढ्न सक्छ, किनकि यसका धेरै लक्षण अन्य रोगसँग मिल्दोजुल्दो हुन्छन् ।
भिटामिन बी–१२ कमी हुँदा देखिने प्रमुख संकेत
यसको कमीको सबैभन्दा सामान्य लक्षणमध्ये एक हो, अत्यधिक थकान । शरीरका कोषिकाहरूलाई सही रूपमा काम गर्न बी–१२ आवश्यक पर्छ । यसको कमी हुँदा रातो रक्त कोषिकाको उत्पादन प्रभावित हुन सक्छ, जसले शरीरका विभिन्न भागमा अक्सिजन र्पुयाउने प्रक्रियामा असर पार्छ ।
यसका कारण कमजोरी, आलस्य र सामान्य काम गर्दा पनि थकान महसुस हुनसक्छ । लामो समयसम्म बी–१२ कमी भएमा ९मेगालोब्लास्टिक एनेमिया० नामक समस्या पनि हुनसक्छ, जसमा असामान्य आकारका रातो रक्त कोषिका बन्न थाल्छन् ।
यसको कमीका कारण हुने एनेमियाले छालाको रंग फिक्का देखिन सक्छ । कतिपय अवस्थामा बिलिरुबिनको मात्रा बढ्दा छाला र आँखाको सेतो भाग पहेँलो देखिने समस्या पनि आउन सक्छ ।
यसको कमी भएका मानिसमा टाउको दुख्ने समस्या पनि देखिन सक्छ । केही अध्ययनहरूले बी–१२ को कम स्तरलाई माइग्रेनसँग समेत जोडेको देखाएका छन् ।
अनुसन्धानका अनुसार, यसको स्तर कम भएका मानिसमा माइग्रेनको जोखिम बढी हुन सक्ने देखिएको छ । यद्यपि, उपचारले सबैमा माइग्रेन पूर्ण रूपमा सुधार गर्छ कि गर्दैन भन्ने विषयमा अझै अध्ययन भइरहेको छ ।
यसको कमीले मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्छ । बी–१२ कम हुँदा शरीरमा होमोसिस्टिन नामक तत्वको मात्रा बढ्न सक्छ, जसले स्नायु प्रणाली र मस्तिष्कको कार्यमा असर पार्न सक्छ ।
यसका कारण उदासीपन, तनाव, चिन्ता, ध्यान केन्द्रित गर्न समस्या र अन्य मानसिक समस्या देखिन सक्छन् ।
भिटामिन बी–१२ ले स्नायु प्रणालीको काममा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको कमी हुँदा सोच्ने क्षमता र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पर्न सक्छ ।
कतिपय मानिसले दिमाग भारी भएको, सोच्न गाह्रो भएको वा सामान्य काम पूरा गर्न समस्या भएको महसुस गर्न सक्छन् ।
बी–१२ कमी हुँदा जिब्रो सुन्निने, रातो हुने र दुख्ने समस्या देखिन सक्छ, जसलाई ९ग्लोसाइटिस० भनिन्छ । त्यस्तै, मुखभित्र घाउ हुने, पोल्ने वा सुन्निने समस्या पनि देखिन सक्छ । कतिपय अवस्थामा यो एनेमिया हुनुअघि नै देखिने प्रारम्भिक संकेत हुन सक्छ ।
बी–१२ कमीले स्नायुमा असर पार्दा हातखुट्टामा झमझम हुने, पोल्ने वा सियोले घोचे जस्तो महसुस हुन सक्छ ।
यो समस्या मधुमेहका कारण हुने स्नायु क्षति जस्तै देखिन सक्छ । मधुमेहका बिरामीले प्रयोग गर्ने मेटफोर्मिन औषधिले शरीरमा बी–१२ अवशोषण कम गर्न सक्ने भएकाले नियमित परीक्षण आवश्यक हुन सक्छ ।
मांसपेसी कमजोर हुनु वा बाउँडिनु, शरीरको सन्तुलन बिग्रनु, हिँड्न समस्या हुनु, आँखाको दृष्टिमा समस्या आउनु, जस्ता समस्या देखिन सक्छन् ।
भिटामिन बी–१२ कमी कसरी पत्ता लगाउने ?
भिटामिन बी–१२ कमीका लक्षणहरू अन्य रोगसँग मिल्न सक्ने भएकाले केवल लक्षणका आधारमा मात्र पहिचान गर्न कठिन हुन्छ । यसका लागि चिकित्सकले रगत परीक्षण गरेर शरीरमा यसको मात्रा जाँच गर्छन् ।
शाकाहारी वा भेगन खाना खाने व्यक्ति, ६० वर्षभन्दा माथिका व्यक्ति, गर्भवती तथा स्तनपान गराउने महिला, मेटफोर्मिन वा केही अन्य औषधि प्रयोग गर्ने व्यक्तिलाई बी–१२ को समस्या बढी देखिन सक्छ । एजेन्सी


























