देश/प्रदेश

बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता

Banner

मकवानपुर, १६ असार :

बागमती प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथिको छलफलभन्दा अघि बजेट प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । सो अवसरमा उहाँले फजुल खर्च कम गरेर भौतिक पूर्वाधार विकासमा जोड दिने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।

विगतका सरकारले प्रदेशका १३ जिल्लामा बहुवर्षीय र विभिन्न टुक्रे योजनासमेत गरी २४ हजारको हाराहारीमा पुर्‍याएका त्यसलाई हटाएर करिब १३ हजारमा सिमित गरेको उहाँले जानकारी दिनुभयो । मन्त्री तामाङले प्रदेशको विभिन्न जिल्लामा स्थायी बसोबास गरेका विपन्न दलित समुदायका एक हजार परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत पक्की घर निर्माण गरी चालु आवभित्रै सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले बागमती प्रदेशमा मौजुदा मुख्यमन्त्री तथा अन्य मन्त्रालय गरी १४ वटा रहेकामा आगामी साउन महिना पहिलो हप्तादेखि मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर मुख्यमन्त्री सहित ८ वटा मन्त्रालयको संरचना राख्ने मन्त्रीपरिषद्ले निर्णय गरिसकेको जानकारी दिनुभयो ।

मन्त्री तामाङले सोही बैठकमा प्रदेश सरकारले आव २०८३/८४ को लागि ल्याइएको बजेट दलगत स्वार्थभन्दा माथि रहेर सबै वर्ग समुदायको लागि विभिन्न योजना सन्तुलित रूपमा कार्यान्वयन गर्दै लैजाने बताउनुभयो । प्रदेशसभाको उपसभामुख अप्सरा चपागाईंले यही असार १७ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेको जानकारी गराउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>