देश/प्रदेश
कर्मचारी सरुवा प्रक्रिया अब पूर्ण रूपमा डिजिटल प्रणालीबाट हुने

काठमाडौँ, १६ असार :
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी सुरु गरेको छ। सरुवा प्रणालीलाई पारदर्शी, छिटो, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले नयाँ डिजिटल प्रणाली विकासको काम अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (API) मार्फत जोडिने भएकाले आवश्यक सूचना स्वतः अद्यावधिक हुने व्यवस्था मिलाइनेछ।
सरुवाका लागि आवेदन दिने प्रक्रियामा विशेष ‘फ्ल्यागिङ सिस्टम’ समेत राखिनेछ, जसले दोहोरिएका, विशेष निगरानी आवश्यक भएका वा थप परीक्षण गर्नुपर्ने आवेदनलाई छुट्याउन सहज बनाउनेछ। साथै, कर्मचारीहरूले आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्रोसेस ट्र्याकिङ सिस्टम मार्फत अनलाइनबाटै हेर्न सक्नेछन्।
मन्त्रालयले सरुवासम्बन्धी पत्राचार प्रणालीबाटै स्वचालित रूपमा तयार हुने व्यवस्था गर्ने जनाएको छ। आवश्यक परे अन्य सम्बन्धित निकायका प्रणालीसँग पनि API मार्फत सूचना आदान–प्रदान गर्न सकिनेछ। सरुवासम्बन्धी निर्णय र विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गर्ने व्यवस्था समेत गरिने बताइएको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले सरकारी कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिमा आधारित बनाउने सरकारको नीतिअनुसार यो प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइएको बताइन्। उनका अनुसार प्रणाली कार्यान्वयनपछि सरुवा प्रक्रियामा हुने ढिलाइ कम हुने, पारदर्शिता बढ्ने र कर्मचारीले थप सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्नेछन्।


























