देश/प्रदेश
बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्री ओलीको हात छ : नेता गजुरेल

काठमाडौं, फागुन ११-
देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको र उनलाई राजीनामा मात्रै गराउनु पर्याप्त नभएको जीकिर गरे ।
रिपोटर्स क्लबले आज काठमाडौँमा गरेको साक्षात्कारमा उनले भने,‘यदि स्विस कम्पनीसँग अन्तरविरोध नभएको भए त ? ठूलो मात्रामा भ्रष्टचार हुन लागेको रैछ नि, २६ अर्बमा हुने कुरा लागत बढाएर ४० अर्ब पु¥याइएको रहेछ, यत्रो ठूलो रकम खाने योजना रहेछ ।’ गजुरेलले मन्त्री बाँस्कोटाको सात वटा योजनामा एक खर्ब खाने योजना रहेको कुरा पनि मिडियामा आएको सुनाए । उनले थपे, ‘अनि हामीले देश विकास होला भनेर कसरी कल्पना गर्ने ?’ उनले वर्तमान सरकार नै भ्रष्टचारमा लिप्त रहेको पनि आरोप लगाए । ‘सरकारले समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर बकवास गरिरहेको पनि उनको टिप्पणी छ । अहिले सामान्य नागरिकले आफ्ना छोराछोरी पढाउन सक्ने अवस्था नभएको र उपचार गराउन सक्ने अवस्था पनि नभएको चित्रण गर्दै गजुरेलले मुलुकको अवस्था साह्ै चिन्ताजनक रहेको सुनाए । उनले भने, ‘सरकारका मन्त्री नै यसरी भ्रष्टचारमा लिप्त भएपछि मुलुकको यो अवस्था हुनु त सामान्य नै भयो नि ।’
उनले गोकुलप्रसाद बास्कोटाको कमिसनको अडियो प्रकरणबारे गम्भीर छानबिन हुनुपर्ने बताउँदै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने माग गरे । उनले भने, ‘प्रधानमन्त्रीको जानकारी बिना यो सम्भव छैन् ।’ गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्री कहाँ पुगेको कुरा आएको सुनाउँदै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन ? भन्दै कडा प्रश्न गरे ।
उनले भने,‘उहाँले यत्रो दिन किन गुपचुप राख्नुभयो ? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ, अहिले उहाँले गोकुल बास्कोटा प्रकरणमा छानबिनको सवालमा अर्कै टिप्पणी गरेका छन् । अख्तियारले सत्यतथ्य छानबिन गर्ने कुरामा विश्वास छैन्, अख्तियार त सरकारले जे भन्यो त्यही गर्छ ।’ उनले यो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बास्कोटालाई जोगाउन खोज्नुभएको त छैन ? भनेर पनि आशंका व्यक्त गरे । ‘अडियो आएपछि उहाँले किन केही गर्नुभएन ? दुई महिनासम्म के हेरेर बस्नुभयो ? उल्टै उहाँले यो अडियो लुकाउने चेष्टा गर्नुभयो, अब स्थिति धेरै नै गम्भिर छ’ उनले थपे ।
त्यसैगरी अर्काै रिपोटर्स क्लबकै साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुलप्रसाद बास्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ ? भन्ने कुरा पुष्टि भएको स्पष्ट पारेका छन् । उनले बास्कोटाको टेप प्रकरण त सानो ईपिसोडमात्रै भएको टिप्पणी गरे । उनले भने,‘यो सरकारको अरु धेरै काण्डहरु छन् । अहिले एकपछि अर्को काण्ड बाहिरिएसँगै नेपाली जनताले पनि अब त भूल गरिएछ भनेर सोच्न थालेका छन् । सरकारले जनतालाई नारामात्रै देखाएको रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भयो ।’ उनले वर्तमान सरकार फोरजी काण्ड, यति काण्डदेखि अनेकौं काण्डमा फसेको आरोप लगाए । उनले भने,‘गोकुल बास्कोटालाई माथिबाट निर्देशन र संरक्षण भएको छ । यो प्रकरणमा गम्भीर छानबिन हुनुपर्छ । प्रधानमन्त्री केपीशर्मा ओलीले पनि जवाफ दिनुपर्छ । हामीले यो प्रकरणमा विरोध गरिरहेका छौं । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन, सबै भ्रष्टचारका काण्डबारे संसदमा स्पष्ट जवाफ दिनुपर्छ । समग्र काण्डमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ ।’

























