राजनीति

कम्युनिष्टहरुले आफैलाई सिध्याउँछन्, संकेत राम्रो छैन : प्रचण्ड

Banner

काठमाडाैं, फागुन ९-

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सिध्याउने विश्‍वको इतिहास नेपालमा पनि दोहोरिने खतरा देखिएको बताएका छन् ।

शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै प्रचण्डले कम्युनिष्टहरु सत्ता र शक्तिमा पुगेपछि आदर्शबाट विचलित हुने गरेको बताएका हुन् । ‘अहिले भइसक्यो भनेको होइन । मेरो भनाइलाई बढी नबुझियोस् । तर संकेत त त्यति राम्रो देखिएन नि आजभोलि ।’

निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाको कमिसन काण्डप्रति संकेत गर्दै प्रचण्डले कम्युनिष्टलाई सत्तामा पुगेपछि ढाल्न कुनै ठूलो शक्ति आवश्यक नहुने तर्क गरे ।

सत्तामा नहुँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासनमा रहेका बेला भने आदर्शबाट विचलित हुने गरेका विश्वको इतिहास रहेको प्रचण्डको भनाई थियो ।

‘यसो हेर्‍यो भने हाम्रो पनि नियति त्यतै जाने खतराका संकेतहरु… अहिले भैसक्यो भन्या होइन है फेरि, मेरो भनाईलाई फेरि बढि नबुझियोस्, तर संकेत त त्यति राम्रा देखिएनन् नि आजभोलि घटना यसो हेर्‍यो भने । मान्छेहरु त बिग्रिने बिग्रिने तिर जस्तो जो देखिँदैछ, त्यस्तो बेलामा आज नारायणविलासी जोशी जस्ता नेतालाई औपचारिक रुपमा सम्झने मात्रै होइन, व्यवहारमा पनि आदर्श देखाउन आवश्यक छ’, प्रचण्डले भने ।

उनले कम्युनिष्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन् त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचिलत हुने गरेका बताए ।

उनले कम्युनिस्टहरु सत्तामा पुगेपछि पद, प्रतिष्ठा लोभ लालचा, बिभिन्न खालका विकृती, विसंगति, भ्रष्टाचारलगायतका क्रियाकलापमा लिप्त हुने गरेको टिप्पणी गरे। प्रचण्डले हिजोको खालखण्डमा मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग गर्न तयार हुने मानिसहरु शासन हातमा आएपछि बिस्तारै जनभावनालाई सम्मान गर्न नसक्ने परिस्थितीमा पुग्ने गरेको विश्वको इतिहास रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>