नवलपुर
थरुहट थारुवान राष्ट्रिय मोर्चा नवलपुरद्वारा ज्ञापनपत्र पेस

ज्ञानु पंगेनी
नवलपुर, फागुन ६-
थरुहट थारुवान राष्ट्रिय मोर्चा नवलपुरले कैलालीको टिकापुर घटनालाई लिएर गरेको फैसला सच्याउनुपर्नेसहितका विभिन्न माग राख्दै ज्ञापनपत्र पेस गरेको छ ।
मंगलबार कावासोती स्थित जिल्ला प्रशाशन कार्यालयका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे मार्फत् प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै टिकापुर घटनामा दोषी ठहर गरेर सर्वस्वसहित आजिवन कैदको फैसला भएका रेशमलाल चौधरी लगायत ११ जनालाई बिना शर्त रिहाइको माग गरिएको छ । यस्तै संविधान संशोधन गरी आदिवासी जनजाति समुदायको अधिकार सुनिश्चित गर्न समेत ज्ञापनपत्र मार्फत् माग गरिएको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले चरणबद्ध आन्दोलनकै क्रममा यही फागुन १ गतेबाट आमरण अनसन बस्दा स्वास्थ्यमा असर परिरहेको तर, सरकारले वास्ता नगरेको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र उक्त आन्दोलनमा ऐक्यबद्धता समेत रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । अनशनरत थारुलाई अनशन तोडी वार्तामा बोलाउन एथासीघ्र पहल गर्नुपर्ने माग गर्दै अन्यथा सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।

उक्त आन्दोलनमा आदिवासी जनजाति महासंघ नवलपुरले समेत ऐक्यबद्धता जनाएको छ । महासंघका सचिव इन्द्र फाल मगरले आदिवासी जनजाति समूदायको मुद्दामा आफूहरुको समर्थन रहेको बताएका थिए । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मान महतोको नेतृत्वमा आएको मोर्चाको टोलीले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । टोलीमा मोर्चाका केन्द्रीय सल्लाहकार गणेशमान महतोलगायतका अगुवाको सहभागिता रहेको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले यथासीघ्र प्रधानमन्त्री कार्यालयमा सम्प्रेषण गर्ने प्रतिबद्धता जनाए ।
























