राजनीति
प्रतिनिधिसभामा सांसदको प्रश्न – पाँच हजार मारेको छु भन्नेलाई कानुनी दायरामा ल्याउनुपर्दैन ?

काठमाडौं, माघ २९-
सार्वजनिक रुपमा पाँच हजार मारेको अभिव्यक्ति दिनेलाई कानुनी कारबाही गर्न एक सांसदले माग गरेकी छन् ।
नेपाली कांग्रेसकी सांसद हीरादेवी गुरुङले पाँच हजार मान्छे मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा नल्याइएको भन्दै आक्रोश पोखेकी हुन् । केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धकालमा मारिएकामध्ये पाँच हजारको जिम्मा लिने बताएका थिए । बाँकी १२ हजार राजामहाराजाले मारेको उनको तर्क थियो ।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसद गुरुङले भनिन्, “पाँच हजार मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउन नसक्ने यो सरकार पूर्ण रूपमा अपराधी र विभिन्न काण्डैकाण्ड मालिकहरूको संरक्षक हो भन्दा फरक पर्दैन ।”
लोकतन्त्रको प्रत्याभूति भनेको कानुनी राज्य हो । न्यायको अनुभूति दिलाउनु हो । भन्दै उनले प्रश्न गरिन्, “त्यस्तो होइन भने तिनीहरूलाई कारबाही गर्न किन नसकेको ? ठूलालाई चैन, सानालाई ऐन भनेको यही हो ? यो कुन कानुनमा छ ?”
























