राजनीति

प्रतिनिधिसभा : कोरोनादेखि गच्छदारसम्मको विषयमा सरकारको ध्यानाकर्षण

Banner

काठमाडौँ, माघ २८-

प्रतिनिधिसभाका सांसदहरुले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनहरुले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याएर राखिने ‘क्वारेन्टाइन स्थल’ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तत्काल व्यवस्था गरी उद्धार गर्न सुझाव दिए ।

सांसद सरिता गिरीले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा नेपाली फसेको उल्लेख गर्दै तत्काल उनीहरुको उद्धार गरी नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले यस विषयले संसद्मा आवश्यकताअनुसार प्राथमिकता पाउन नसकेको समेत बताए । सांसद प्रेम सुवालले कोरोना भाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन स्थल’का रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताए । उनले त्यस्तो स्थल घना बस्तीभन्दा टाढा राख्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद आशाकुमारी विकले बझाङको साइपाल गाउँपालिकामा हिमपातका कारण यातायात अवरुद्ध हुँदा भोकमरीको समस्या देखिएको भन्दै तत्काल हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरी समस्या समाधान गर्न माग गरे । सांसद एकवाल मिँयाले भारतबाट नेपालमा सामान आयात गर्दा प्रहरीबाटै अवरोध हुने गरेको गुनासो गर्दै सहज व्यवस्था गर्न माग गरे ।

स्वस्थानी व्रतकथाको पाना च्यात्न सांसद यशोदा गुरुङ सुवेदीको माग

नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेकी छिन् ।

उनले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने बताइन् । उनले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउदै भनिन्– ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

काँग्रेसको प्रश्न,’सरकारको छाया बनेर बस्ने भए अख्तियारको परिकल्पना किन ?’

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण भएको उल्लेख गर्दै अवरोध हटाएको बताइन् ।

उनले सबै निकायको ध्यानाकर्षण गरउन ३ दिन संसद अवरोध गरेको बताइन् । संसद शुरु हुनसाथ समय लिँदै भुसालले अख्तियार सरकारको छाया भएको आरोप लगाइन् । भनिन्, ‘यदि सरकारको छाया वनेर बस्ने भए अख्तियार जस्ता निकाय किन परिकल्पना गरियो सभामुख महोदय ?’

नेपाली कांग्रेसले लोकतान्त्रीक मुल्य मान्यताको परिकल्पना गरेर नै संसद खुलाएको उनको भनाइ थियो ।

गच्छदारको विषयलाई कांग्रेसले अब राजनीतिक रुपमा अघि बढाउनेसमेत उनले बताइन् ।

‘सभामुख महोदय अब कांग्रेसले गच्छदारको विषय राजनीतिक रुपले अघि बढाउने छ’, भुषालले भनिन ।

वालुवाटार जग्गा छानिवनका विषयमा आफ्ना उप सभापति विजयकुमार गच्छदारलाइ अख्तियारले राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको भन्दै काँग्रेसले विरोध जनाउँदै आएको छ ।

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट संविधानसभा सदस्य रहनुभएका सिद्धार्थकुमार सोमानीको निधनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेका उक्त शोक प्रस्ताव बैठकले पारित गरेको हो । स्व नेता सोमानीको ५२ वर्षको उमेरमा यही माघ २५ गते शनिबार झापास्थित निवासमै निधन भएको थियो ।

नेता सोमानी २०६४ सालमा तत्कालीन माओवादीका तर्फबाट समानुपातिक सदस्य निर्वाचित भएका थिए । स्व नेता सोमानीले गणतन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गरेएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २९ गते बुधबार १ बजे बस्नेछ ।

तीन प्रतिवेदन पेश

प्रतिनिधिसभाकोे बैठकमा विषयगत समितिका तीन प्रतिवेदन पेश भएका छन् ।

आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रमाण (दोस्रो संशोधन), कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘बीउ बिजन (दोस्रो संशोधन) र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘लोक सेवा आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेका थिए ।

सङ्घीय संसद्को सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक बैठकमा टेबुुल गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>