देश/प्रदेश
भ्रष्टचारीलाई नियतवश उन्मुक्ति स्वीकार्य हुँदैन: कमल थापा

काठमाडौं, माघ २५-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले पछिल्लो ८÷१० वर्षदेखि देशमा भ्रष्टाचारको ब्रम्हलुट देखिएको बताएका छन् ।
रिपोटर्स क्लबले आज काठमाडौँमा गरेको साक्षात्कारमा उनले भने, ‘ढिलै भए पनि अख्तियार अनुसन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राप्रपा यो कदमलाई सकारात्मक रुपमा लिन्छ र अख्तियारलाई धन्यवाद दिन चाहन्छ ।’ मुद्दा दायर गर्दा राजनीतिक आग्रह र पूर्वाग्रह तथा प्रतिशोध साँधिएको भन्ने कुरा पनि आएको सुनाउँदै थापाले थपे,‘भ्रष्टाचारको मुद्दामा निर्दोष पर्नु हुँदैन्, अपराधिलाई उन्मुक्ति दिनुहुँदैन र उनीहरुले उन्मुक्ति पाउनु हुँदैन । अहिले यो विषय अदालतसम्म पुगेको छ । अदालत पनि अहिले अग्निपरीक्षामा छ । उसले निर्दोषलाई सफाइ देला र कोही कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने आशा छ ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गरे । उनले भने,‘आयोगलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त राख्नुपर्छ । यसले आफ्नो विश्वनियता पनि कायम राख्नुपर्छ । ललिता निवास प्रकरणमा आयोगबाट प्रशंसनीय काम भएको छ ।’ आगामी दिनमा आयोगले एनसेल कर काण्ड, वाइडबडी जहाज खरिद घोटाला काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत् आयोजनालगायतमा भएका भ्रष्टाचारको अनुसन्धान गरेर अपराधिलाई छिटोभन्दा छिटो कानूनको दायरामा ल्याउनको लागि कदम चाल्नुपर्ने उनको सुझाव छ ।
थापाले अमेरिकी आर्थिक सहायता (एमसीसी) बारे योजनाबद्ध ढंगबाट भ्रम सिर्जना गर्ने, विवाद खडा गर्ने र जनताका मनमा द्विविधा र आशंका पैदा गर्ने कार्यहरु भइरहेको टिप्पणी गरे । उनले भने, ‘यो योजनाबद्ध र संगठित रुपमा भएको देखिन्छ । वास्तवमा भारतको राजधानी नयाँ दिल्लीमा २०६२ साल मंसिरमा भएको १२ बुँदे समझदारीपछि नेपालमा बाह्य शक्तिको चलखेल, प्रभाव र हस्तक्षेप तीव्ररुपले बढेर गएको छ । प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता र अदूरदर्शिताका कारणले गर्दा नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बन्न सक्ने खतरा देखिएको छ ।’
उनले एमसीसी र बीआरआईसम्बन्धी विवाद त्यही खतराको पूर्व संकेत भएको टिप्पणी गरे । उनले भने, ‘एमसीसीसम्बन्धी सम्झौतामा भएका केही सामान्य त्रुटि र कमीकमजोरीलाई हटाएर अमेरिकाले प्रदान गर्ने आर्थिक सहायता लिनुपर्दछ । म तपाईहरुसँग एउटा प्रसंग राख्न चाहन्छु । नेपाल त्यस्तो देश हो, जसको कसैसँग पनि दुश्मनी छैन । हामी कुनै सैन्य संगठनमा छैनौं । विश्वका सबै मुलुकहरुसँग हाम्रो मैत्रीपूर्ण सम्बन्ध छ, त्यसकारणले गर्दा नेपालको आर्थिक विकासमा चाहे अमेरिका होस्, चाहे रुस होस्, चाहे भारत होस्, बेलायत होस्, जापान होस् या चीन होस्, सबैसँग हामीले सहयोग लिनुपर्दछ । शीतयुद्धको कालमा जब सिंगो विश्व दुई ध्रुवमा विभाजित रहेको थियो, त्यो बेलामा राजा महेन्द्रको परिपक्क र दूरदर्शी नीतिको कारणले गर्दा हामीले कुनै पनि समूहमा संलग्न नभइकन अमेरिका, रुस, चीन, भारत सबैको सहयोग लिएर नेपालको आर्थिक विकासको रेखा कोरेको हाम्रो विगतको अनुभव छ ।’
थापाले अहिले आफूहरुले कुनै बाहृय शक्तिको दबाब र प्रभावमा परेर सहयोग लिने वा नलिने भन्ने निर्णय नभएर नेपालको बृहत्तर हितलाई ध्यानमा राखेर नेपालको आर्थिक विकासमा सबैबाट सहयोग लिने कार्य गर्नुपर्ने सुझाए । उनले कांग्रेस र कम्युनिस्टको भन्दा फरक विचार बोकेर हिँड्ने पार्टी कुनै छ भने त्यो राप्रपा मात्रै भएको पनि दाबी गरे । उनले भने,‘त्यसो भएको हुँदा विकल्प बन्नसक्ने हैसियत हामीसँग छ । तर, जनमत र संगठन हाम्रो कमजोर छ । अब त्यो संगठन बनाउने र जनमत हाँसिल गर्ने दिशातर्फ हामी अघि बढिरहेका छौं ।’ उनले अबको तीन वर्षपछि हुने संसदीय निर्वाचनबाट राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने आफूहरुको प्रयास रहेको सुनाए ।
























