राजनीति
अख्तियार अगाडि साझा पार्टीको प्रदर्शन, दर्जन बढी कार्यकर्ता पक्राउ

काठमाडौँ, माघ२४–
अख्तियार दुरूपयोग अनुसन्धान आयोग अगाडि सिठी जुलुस निकाल्ने साझा पार्टीका केन्द्रीय नेतासहित एक दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् ।
बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेतालाई चोख्याउने गरी अख्तियारले कदम चालेको विरोधमा प्रदर्शनमा उत्रेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयागको कार्यालयबाहिर प्रदर्शनमा उत्रेका उनीहरु पक्राउ परेका हुन् । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो पार्टीका केन्द्रीय सदस्यहरुसहित थुप्रै नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जानकारी दिएका छन् ।
बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ दलका नेतालाई जोगाउने गरी लागू गरिएको एक देश, दुई कानुनको विरोध गर्न अख्तियार अगाडि पुगेका नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको उनले बताएका छन् ।
बालुवाटार जग्गा प्रकरणमा सत्तारुढ दलका नेता माधव कुमार नेपाल विष्णु पौडेल लगायतलाई अख्तियारले मुद्दा चलाउन नपर्ने जनाएपछि विरोध चर्केको हो ।
आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ ।
























