राजनीति
कोरोनाभाइरसले नेपाल भ्रमण वर्षलाई ठेस लागेको छ : प्रचण्ड

काठमाडौं, माघ २२-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट फैलिएको कोरोनाभाइरसले नेपाल भ्रमण वर्ष २०२० लाई थोरै असर पुर्याएको बताएका छन् ।
बुधबार पोखरामा विश्व शान्ति समारोह उद्घाटन गर्दै प्रचण्डले भने,‘हामी नेपाल भ्रमण वर्षमा छौं । चीनमा देखिएको कोरोनाभाइरसले थोरै ठेस लागेको छ । तर यो छिट्टै नियन्त्रण हुन्छ ।’
उनले नेपालमा अहिले कोरोना संक्रमित नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको पनि बताए ।
उनले नेपालमा कोरोनाभाइरस संक्रमित प्रमाणित रूपमा अहिलेसम्म कोही पनि नरहेको बताए । तर महामारी सबै मिलेर नियन्त्रण गर्नुपर्ने प्रचण्डको भनाइ छ ।
‘चीनले झण्डैझण्डै चमत्कारजस्तै गरेर अस्पताल बनाउने र भ्याक्सिन बनाउने काम गरिरहेको छ,’ उनले भने ।
‘नेपालमा प्रमाणित रूपमा कोही पनि कोरोनाभाइरस संक्रमित छैनन्, त्रसित हुनुपर्ने स्थिति छैन। चीनमा पनि छिट्टै नियन्त्रणमा आउँछ र वातावरण सहज हुन्छ,’ उनले भने।
“एउटा हो कि भन्ने आशंका गरिए पनि होइन भनेर अस्पतालबाट डिस्चार्ज भएर गइसकेको अवस्था छ । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म संक्रमित फेला नपरेको प्रमाणित रूपले भनिसकेको छ । जहाँबाट संक्रमण फैलिएको भनिएको हो त्यहाँ रहेका नेपाली विद्यार्थी उद्धार गरेर ल्याउन सरकारले पहलकदमी लिई नै सकेको छ । यसर्थ कोरोनाबाट हामी कोही पनि त्रसित हुनुपर्ने अवस्था छैन । छिट्टै चीन र अन्यत्र पनि नियन्त्रण हुन्छ । हामीले यो सन्देश प्रवाह गर्नुपर्छ ।”
कोरोनाभाइरस संक्रमण फैलिएपछि चिनियाँ पर्यटक नेपाल आएका छैनन् ।
























