राजनीति
प्रश्नहरूको कठघरामा शीर्ष नेतृत्व : सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग

काठमाडौँ, १९ माघ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आइतबार सकिँदैछ । बुधबारबाट सुरु भएको आइतबारको बैठकमा अध्यक्ष तथा महासचिवले जवाफ दिएपछि समापन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
काठमाडौंमा जारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बालुवाटार जग्गा, एनसेल, वाइडबडी र यती प्रकरणलगायतको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।
केन्द्रीय समिति बैठक अघि आजै सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकमा केन्द्रीय समिति बैठकमा सदस्यहरुले राखेका प्रश्नको जवाफका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
सचिवालय बैठक आइतबार ११ बजे बालुवाटारमा बस्न लागेको महासचिव विष्णु पौडेलले जानकारी दिए । नेकपा घोषणा भएको २१ महिनापछि एजेण्डासहित बसेको नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पमकल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरुमा समुहगत रुपमा छलफल भएको थियो ।
समूह १५ का टोली नेता हिमाल शर्माले केन्द्रीय कमिटी सदस्यले शिक्षा र स्वास्थ्यमा लगानी गरेको भए एक वर्षभित्र लगानीबाट बाहिरिनुपर्ने प्रस्ताव राखेका थिए। बाहिरिन नसक्नेले कमिटी छोड्नुपर्ने शर्माको भनाइ थियो।
समूह १५ को धारणा सुनाउँदै समूह नेता ठाकुर गैरेले पार्टी कार्यकर्तामा रातारात धनी हुने, उच्च पद हासिल गरिहाल्ने, प्राप्त पद कहिल्यै नछोड्ने, नेता र सरकारको पहुँचमा रहनेजस्ता प्रवृत्ति हावी हुँदै गइरहेको बताएका थिए। जस्तोसुकै कमजोरी गरे पनि नेतृत्वबाट संरक्षण पाइन्छ भन्ने विश्वास रहने समस्या रहेकाले यसको अन्त्य हुनपर्ने माग गरिएको छ ।
२०४८ सालपछि पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग समेत बैठकमा उठेको छ।
१५ समुहमा भएको छलफलमा धेरैजसो नेताहरुले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना गरेका छन् ।
























