राजनीति
प्रधानमन्त्री ओलीबाट शहीदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, माघ १६-
प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन।
यसअघि बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट शुरु भएको प्रभातफेरीमा सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।
शहीद सप्ताहअन्तर्गत माघ १० गते टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको थियो । त्यस्तै माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा तथा माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो । कामपाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो ।
चार शहीदको पूर्णकदको शालिक निर्माण
कामपाले चार शहीदको पूर्णकदको सालिक प्रतिस्थापन गरेको छ । राणा शासन विरुद्धमा लागेको भन्दै विसं १९९७ मा मृत्युदण्ड पाएका चार शहीदको पूर्णकदको शालिक निर्माण गरिएको हो ।
गत वर्ष वडा नं १२ स्थित टेकु मचलीमा शुक्रराज शास्त्रीको पूर्णकदको शालिक प्रतिस्थापन गरिसकिएको थियो । यस वर्ष तीन जना शहीदको शालिक प्रतिस्थापन गरिएको हो । सबै शहीदको शालिक महेश तुलाधरले निर्माण गरेका हुन ।
हुकुमी शासनका विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा गोली हानेर मृत्युदण्ड दिइएको थियो । विसं १९६० असार १७ गते बैतडीमा जन्मिनुभएका चन्दले महात्मा गान्धीले भारतमा शुरु गरेका सत्याग्रहमा पनि भाग लिएका थिए ।
त्यस्तै विसं १९७५ मा रामेछापको भङ्गेरीमा जन्मिएका श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका थिए । राणा शासनविरुद्ध लागेको भन्दै शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुण्ड्याएर मारिएको थियो । शास्त्री विसं १९५० मा बनारसमा जन्मेका थिए ।
विसं १९६६ असोज १ गते काठमाडौँको ओमबहालमा जन्मेका शहीद धर्मभक्त माथेमालाई तत्कालीन राणा शासकका विरुद्धमा गतिविधि सञ्चालन गरेको भन्दै विसं १९९७ माघ १३ गते काठमाडौँको सिफलमा रहेको बकाइनाको रूखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।रासस
























