राजनीति
दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बस्दै नेकपा, यस्तो छ कार्यसूची

काठमाडौं माघ, १५ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक जम्बो केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बुधबार अपराह्न ३ बजे राष्ट्रिय सभगृहमा बैठक बस्न लागेको नेकपा नेताहरूले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा नअट्ने भएपछि राष्ट्रिय सभागृहमा बैठक गर्न लागिएको हो ।
बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने र सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यसैगरी सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने बताइएको छ । उनका अनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रीत हुने छ ।
विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने उनले जानकारी दिए ।
बैठक यही माघ २० गतेसम्म राष्ट्रिय सभागृहमा बस्नेछ ।
नेकपा केन्द्रीय समिति हाल ४ सय ४६ सदस्यीय छ । यीमध्ये ४ सय बढी बैठकमा सहभागी हुने भएपछि सभागृहमै बैठक गर्न लागिएको नेकपाका एक नेताले जानकारी दिए ।
पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।
पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढवर्षमा पहिलो पटक बस्न लागेको हो। विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।
विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसयता बैठक हुनसकेको छैन ।
























