देश/प्रदेश
शहीदकै योगदानले गणतन्त्र’

काठमाडौँ, माघ १०-
शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र ल्याउन सफल भएकामा वक्ताहरुले जोड दिएका छन् । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमअन्तर्गत पहिलो दिन आज शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकु पचलीमा श्रद्धाञ्जलिसभाका सहभागीले उक्त धारणा राखेको हो ।
महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले दलको कुरा गर्न नपाइने समयमा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुति दिने शहीदहरुको योगदान सबैका लागि मार्गदर्शक रहेको बताए । प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार शहीदको पूर्णकदको शालिक स्थापना गर्ने क्रममा यस वर्ष महानगरले धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक प्रतिस्थापन गर्दैछ । गत वर्ष माघ १० गते टेकु पचलीस्थित खरीबोटमुनि आयोजना गरिएको श्रद्धाञ्जलिसभामा शुक्रराज शास्त्रीको शालिकको अनावरण गरिएको थियो ।
राणा शासनविरुद्ध लागेको भन्दै शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा र माथेमालाई सिफल उकालोमा बकाइनाको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै श्रेष्ठ र चन्दलाई शोभा भगवतीमा गोली हानेर प्राणदण्ड दिइएको थियो । शास्त्री विसं १९५० वनारसमा जन्मेका थिए ।
वडा नं १२ ले रु १० लाख खर्च गरेर पित्तलको साढे पाँच फिट अग्लो शास्त्रीको पूर्णकदको शालिक राखेको छ । शास्त्रीलाई खरीबोटको उत्तर मोहडामा झुण्ड्याइएको थियो । यो शालिक महेश तुलाधरले चार महिना लगाएर तयार पार्नुभएको हो । शास्त्रीको श्रद्धाञ्जलिसभा भएको यो स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।
शहीद सप्ताहका बाँकी कार्यक्रममा यही माघ १३ गते सिफलमा शहीद माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा शहीद श्रेष्ठ र चन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभा गरिनेछ । त्यस्तै माघ १६ गते शहीद स्मारक लैनचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलिसभा गरिनेछ । महानगरपालिकाले विसं २०१२ देखि शहीद सप्ताह मूल समारोह समिति गठन गरी मनाउन थालेको हो । रासस
























