नवलपुर

नारायणगढ–बुटवल सडक विस्तारः ४६ हजार रुख काटिँदै

Banner

नवलपुर,पुस २४-

नारायणगढ–बुटवल सडक नारायणगढ खण्ड ४ लेनको बनाउन रुख काट्न सुरु गरिएको छ । सडकका दुवै किनारका रुख मंगलबारबाट काट्न सुरु भएको हो । रुख काट्न थालिएपछि सडक निर्माणले तीब्रता पाउने भएको छ । राजमार्गको मध्यवर्ती क्षेत्रमा पर्ने थप ३ हजार ७ सय ६ वटा रुख काट्ने अनुमतिका लागि निकुञ्जले प्रक्रियाअघि बढाइसकेको बुटवल–नारायणगढ सडक पूर्वी खण्डका प्रमुख इन्जिनियर सुजन अधिकारीले जानकारी दिए ।

वन विभागले डिभिजन सडक कार्यालय नवलपरासीलाई एक पत्र पठाएर सडक फराकिलो पार्न ४६ हजार २ सय ९४ हजार रुख काट्ने अनुमति दिएको थियो । सडक निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले रुख काटेर धमाधम काम गर्ने बताएको छ । सडकको दायाँबायाँ पर्ने विद्युत्‌का २४ सय वटा पोल हटाउनका लागि पनि टेण्डरको प्रक्रिया सुरु भएको छ ।

पूर्वी नवलपरासी तर्फको सडक फराकिलो बनाउने काम कावासोती नगरपालिकाको खरकट्टा जंगल क्षेत्र र गैंडाकोटको थुम्सीबाट र गैंडाकोटबाट दाउन्नेसम्मको पहिलो खण्डमा काम सुरु गरिएको हो । ११४ किलोमिटर सडक खण्डको काम दाउन्ने गैंडाकोटबाट र दाउन्ने बुटवल खण्ड गरेर दुई समूहमा बाँडेर एकैचोटी काम सुरु भएको छ । जंगल क्षेत्र पर्ने थुम्सी, कावासोती, चोरामारा, अरुणखोला, दाउन्ने, सुनवल क्षेत्रमा सडक क्षेत्रमा पर्ने रुख कटानको कामका लागि वन मन्त्रालयले ढिलो अनुमति दिँदा काम अघि बढ्न सकेको थिएन ।

पहिलो चरणमा पुरानो र साँघुरो सडकमा भएको कल्भर्डलाई भत्काएर नयाँ बनाउन थालिएको छ । कावासोतीको खरकट्टाबाट माटो फिलिङ्गको काम सुरु गरिएको छ ।

यसैगरी पहिलो खण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको जंगल क्षेत्रमा जनावर ओहोरादोहोर गर्ने जैविकमार्ग निर्माण गरिने भएको छ । सडकबाट नै जनावर वारपार गर्दा दुर्घटनामा पर्न सक्ने भएकाले जनावरका लागि वैकल्पिक मार्गका रुपमा जैविक मार्ग निर्माण गरिने जनाइएको छ ।

नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । अहिले दुई लेन रहेको नारायणगढ बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । उक्त खण्डको कामका लागि नेपालले १७ अर्बमा चिनियाँ ठेकेदारलाई ठेक्का दिएको हो । काम द्रुतरुपमा अघि बढाउन ४ स्थानमा साइट अफिस राखेको चिनियाँ कम्पनीले काम अघि बढाएको छ । काम थालेको ४२ महिनाभित्र सडक निर्माणको काम सम्पन्न गर्न पर्ने सम्झौता छ । अब ३९ महिनामा काम सम्पन्न भइसक्न पर्ने समय तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>