अर्थ

चितवन र नवलपुरका पाँच सहकारीबीच एकीकरण

Banner

प्रेम क्षेत्री

नवलपुर, पुस १२

चितवन र नवलपुरमा रहेका पाँच ओटा सहकारी संस्थाहरू एकीकरण भएका छन् ।

बिकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औं साधारणसभाका अवसरमा एकीकरणको घोषणा गरिएको हो । बिकू साकोस गैँडाकोट, गरिमा साकोस हुप्सेकोट, नवजागरण साकोस गैँडाकोट, जनकल्याण बहुमुखी संस्था दुम्कीबास र दियालो साकोस नारायणगढ एकीकरण भएका हुन् ।

शनिबारमात्रै बिकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ स्थानमा क्षेत्रगतरुपमा साधारण सभा सम्पन्न गरेको छ । विजय सामुदायिक शिक्षा सदन गैँडाकोट र देवचुली मावि रजहरमा साधारण सभा गरेको हो । गैँडाकोटमा भएको कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले सहकारीहरु उत्पादनमुखी हुनुपर्ने बताए । कार्यक्रममा बिकूका अध्यक्ष केशवप्रसाद सापकोटाले विकू बेस्ट एन्ड विगेष्ट अवधारणामा अघि बढेको जनाउँदै गर्भदेखि स्वर्गसम्मका कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रममा गैंडाकोट नगर उपप्रमुख विष्णुकुमारी कँडेलले सहकारीहरु मध्ये विकू नमूना सहकारीका रुपमा स्थापित भएको बताइन् ।

संस्थाको प्रगति प्रतिवेदन सहसचिव प्रेमप्रसाद सापकोटा ‘राजु’ले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष कालिदास गौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक टीकाराम कँडेलले प्रस्तुत गरेका थिए । सञ्चालक एवम् पूर्वअध्यक्ष ईन्द्रराजज्योति पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रजहरमा भएको कार्यक्रममा प्रमुख अतिथि देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले यहाँको विकास र आर्थिक रुपमा सबल बनाउन विकूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा विकूका सचिव गोविन्द रिमालले प्रगति प्रतिवेदन, सञ्चालक एवम् पूर्वअध्यक्ष हरिलाल सापकोटाले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन सदस्य गोविन्दराज लामिछानेले प्रस्तुत गरेका थिए ।

शिक्षा समितिका संयोजक तथा सञ्चालक ओमप्रसाद सापकोटाले स्वागत गरेको सो कार्यक्रम विकूका उपाध्यक्ष त्रैलोक्यनाथ खरेलको अध्यक्षतामा भएको हो । कार्यक्रममा विभिन्न विधामा सदस्यलाई पुरस्कृत एवम् सम्मान गरिएको थियो । यसैबीच विकूले नयाँ कार्यसमिति चयन गर्दैछ । विकूका संस्थापक अध्यक्ष एवम् निर्वाचन समिति संयोजक खेमराज सापकोटाले विकूको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको जानकारी दिए । संस्थाको कुल सम्पत्ति गत वर्ष करिब २६ प्रतिशतले वृद्धि भई ३ अरब ९५ करोड पुगेको छ । गत आर्थिक वर्षमा ४७ करोड ८५ लाख कुल आम्दानी र २९ करोड ७३ लाख खर्च भई सञ्चालन मुनाफा १८ करोड १२ लाख रुपैयाँ भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>