खेलकुद
पब्जीको पहिलो ‘विश्वकप’ : नेपाली टिमले जित्यो १० लाख

काठमाडौं पुस,१-
अनलाइन गेम ‘पब्जी’ लाई लिएर नेपालमा बारम्बार विवाद उब्जिन्छ । सरकारले प्रतिबन्ध पनि लगाउने निर्णय गर्यो ।
तर त्यही पब्जीको एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाली खेलाडीहरुको टिमले पुरस्कार जितेको छ।
साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्ट्रिक्स’ले सहभागिता जनाएको थियो । ३२ राष्ट्रहरुले भाग लिएको प्रतियोगितामा नेपाली टिम सातौं भयो र १० हजार डलर (१० लाख रुपैयाँभन्दा बढी) जित्न सफल भयो ।
बनाना कल्चर नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा मध्यपूर्व र उत्तर अफ्रिकाका १६ वटा टिम र बाँकी विश्वका १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टिममा ५ जना खेलाडी थिए ।
पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जितेको छ । उसले एक लाख डलर प्राप्त गर्यो ।
पब्जी विश्वभरका किशोरकिशोरी तथा युवाहरुमा लोकप्रिय एउटा अनलाइन गेम हो । तर कुलतमा फसाएको भनेर विभिन्न देशले यसलाई प्रतिबन्ध पनि लगाएका छन् । पब्जीको लत लागेका किशोरहरुमा मानसिक समस्याहरु देखिने गरेका छन् ।


























