चितवन विशेष

रवि लामिछानेलाई चितवनका सचिवको खुल्लापत्र

Banner

श्री रवि लामिछानेज्यू
सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी
सर्वप्रथम राष्ट्रिय स्वतन्त्र पार्टी छोटो अवधिमै नेपाली राजनीतिको महत्वपूर्ण शक्तिका रूपमा स्थापित हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्ट नागरिकको भावना, नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्दै तपाईंको नेतृत्वमा पार्टीले जुन स्थान बनाएको छ, त्यो नेपाली राजनीतिमा एउटा महत्वपूर्ण घटना र उपलब्धिको रुपमा हेरिएको छ ।

तर, ठूलो राजनीतिक शक्तिसँगै जिम्मेवारी पनि थपिदै जान्छ । जनताले नयाँ विकल्पसँगै नयाँ संस्कार, पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेका छन् । छोटो समयमा नै पाएको जनसमर्थन आँधी, हुरी र वेगमा परिणत भयो भने तपाईहरु पनि उत्तरदायित्ववाट विमुख हुन सक्नुहुन्छ । नेपथ्यमा देखिएका काला वादलका धव्वाहरुको पूर्व संकेत वेलैमा वुझ्न सक्नु भएन भने सफेद वनाइएका तपाईका अनुहारहरु पुनः कालोले पोतिन सक्छ र नेपाली राजनीतिको प्रयोगशालामा अर्को प्रयोगको खतरा वढ्ने छ ।

राजनीतिक दल केवल चुनावी सफलताले मात्र बलियो हुँदैन । यसको स्पष्ट वैचारिक आधार,विधि विधान, लोकतान्त्रिक अभ्यास, पारदर्शी सदस्यता प्रणाली र व्यवस्थित संगठनले नै पुष्टि गरेको हुन्छ । पार्टीका सदस्यहरूको भूमिका, अधिकार र जिम्मेवारी स्पष्ट गर्दै संस्थागत संरचना बलियो बनाउन सकियो भने मात्र संगठन संस्थागत हुनजान्छ । त्यसका लागि आवधिक महाधिवेशन पार्टीको जीवन्तता र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार हुन्छ । चितवनको भरतपुरमा चलिरहेको प्रथम महाधिवेशन संस्थागत विकासको प्रारम्भ मात्र हो । महाधिवेशन प्रक्रियामा देखिने कुनै पनि प्रकारका अन्योल, असन्तुष्टि वा विधिसम्बन्धी प्रश्नलाई समयमै सम्बोधन गर्दै वैचारिक स्पष्टता सहित निष्पक्ष, पारदर्शी र सहभागितामूलक अभ्यास स्थापित गर्न सकियो भने मात्रै पार्टीले जीवन ग्रहण गर्न सक्दछ ।

राष्ट्रीय स्वतन्त्र पार्टीको कमजोर वैचारिक धरातलका कारण केही संवैधानिक प्रश्नहरु उठ्ने गरेका छन । नेपालको संविधानले निर्दिष्ट गरेका वहुलवादमा आधारित लोकतान्त्रिक मूल्य, समावेशिता, विधिको शासन र संस्थागत मर्यादालाई मुलधारका राजनीतिक दलहरुले त आत्मसात गरेकै छन । तर जेनजी युवा पुस्ताहरुको विद्रोहको जगमा उभिएको नयाँ राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले यी मान्यतामा अझ उदाहरणीय भूमिका निर्वाह गर्न रणनीतिक भूमिका र सोही अनुरूपको कार्यक्रम जरुरी छ । युवा पुस्ताले केवल आलोचना होइन, समाधान खोजिरहेका छन । सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन,उद्योग र सेवा प्रवाहमा ठोस नीति र कार्यान्वयनको विश्वासिलो आधार खोजेका छन ।

देशलाई अब केवल राजनीतिक नाराले होइन, दीर्घकालीन सोच र कार्ययोजनाले अघि बढाउनुपर्छ । सुशासन,उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्र, युवा पलायन रोक्ने नीति, प्रविधिको प्रयोग र संस्थागत सुधारका विषयमा स्पष्ट राष्ट्रिय दृष्टिकोण आवश्यक छ । राष्ट्रिय दृष्टीकोण निर्माणका लागि दलहरू वीच सहकार्य, संवाद र सहअस्तित्व अनिवार्य हुन्छ । फरक विचार राख्ने दल वा व्यक्तिप्रति सम्मान गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्छ । पार्टी निर्माणको सुरुवाति दिनमा कार्यकर्तामा देखिने असहिष्णुता, सामाजिक सञ्जालको आक्रामकता र उद्दण्ड व्यवहार रोक्नै पर्दछ । यस्ता गतिविधिले सहकार्यको संस्कृतिमा अवरोध सिर्जना गर्ने मात्र होइन पार्टीको छविमा समेत नकारात्मक असर पार्न सक्छ । समयमा नै यसतर्फ नेतृत्वले सचेत भूमिका निर्वाह गर्न आवश्यक छ । नयाँ शक्तिका रूपमा तपाईंहरूमाथि पुराना कमजोरी दोहोर्‍याउने होइन, नयाँ राजनीतिक संस्कार निर्माण गर्ने जिम्मेवारी छ । जनताको विश्वास जित्न जति सजिलो त्यसलाई कायम राख्न अझ बढी इमानदार प्रयास आवश्यक हुन्छ ।

लोकतान्त्रिक व्यवस्थाको मूल आधार कानुनी राज्य ९च्गभि या ीबध० हो । राजनीतिक शक्ति, पद वा लोकप्रियता जुनसुकै स्तरको भए पनि सबै संविधान तथा प्रचलित कानुनको अधीनमा रहनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई नयाँ राजनीतिक संस्कारको वाहकका रूपमा प्रस्तुत गर्दै आएको सन्दर्भमा कानुनको समान प्रयोग, न्यायिक प्रक्रियाको सम्मान, राज्यका संस्थाहरूको स्वायत्तता र जवाफदेहिताको पक्षमा अझ दृढ भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । जनतामा राज्यप्रतिको विश्वास बलियो बनाउन कानुन सबैका लागि समान हुन्छ भन्ने अनुभूति व्यवहारबाट स्थापित गर्न आवश्यक छ । राजनीतिक स्वार्थभन्दा माथि उठेर विधिको शासन कायम गर्ने अभियानमा नेतृत्वदायी भूमिका खेल्न सकियो भने त्यसले पार्टीको मात्र होइन, समग्र लोकतान्त्रिक संस्कारको विकासमा योगदान पुर्‍याउनेछ ।

अन्त्यमा, राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली लोकतन्त्रको एक महत्वपूर्ण अध्याय बन्न सक्ने सम्भावना बोकेको शक्ति हो । त्यसका लागि व्यक्तिगत लोकप्रियताभन्दा माथि उठेर संस्थागत विकास, लोकतान्त्रिक अभ्यास र राष्ट्र निर्माणको स्पष्ट मार्गचित्रमा अघि वढ्न अपरिहार्य ठानेको छु । तपाई स्वयम् चितवनबाट निर्वाचित जनप्रतिनिधिका रूपमा तपाईसंग स्थानीय नागरिकका अपेक्षा र भरोसा पनि जोडिएको छ । राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाहसँगै पार्टीको उद्गम स्थलको रुपमा चित्रण गरिएको चितवनको समग्र विकासप्रति विशेष दायित्व वहन गर्नुपर्ने हुन्छ । स्मरणीय छ, चितवन कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार र उद्यमशीलताको दृष्टिले ठूलो सम्भावना बोकेको जिल्ला हो । यहाँको कृषि आधुनिकीकरण, किसानको समस्या समाधान, युवा रोजगारी, व्यवस्थित शहरीकरण, वातावरण संरक्षण, यातायात व्यवस्थापन तथा दीर्घकालीन विकास योजनामा प्रभावकारी पहल आवश्यक छ । समृद्ध चितवन केवल भौतिक पूर्वाधारको विस्तार मात्र होइन,अवसर, सुशासन, स्वच्छ प्रशासन र नागरिकको जीवनस्तर सुधारसँग जोडिएको विषय हो । चितवनलाई नमुना विकासको क्षेत्र बनाउने स्पष्ट दृष्टिकोण र निरन्तर पहल तपाईंको प्रतिनिधित्वको महत्वपूर्ण मापन बन्नेछ । आम नागरिक त्यो दिनको पर्खाईमा व्यग्र छन ।
जय नेपाल
​​​​​​​​​​ध्रुवराज पोख्रेल
​​​​​​​​​​ सचिव
नेपाली कांग्रेस चितवन
९८५५०६१९३२

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>