नवलपुर

पत्रकार महासंघद्वारा नयाँ सदस्यता वितरणमा कडाइ गर्ने निर्णय

Banner

ज्ञानु पंगेनी

नवलपुर, मंसिर ३०

नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरण र शुद्धिकरणमा कडाइ गर्ने निर्णय गरेको छ ।

आइतबार र सोमबार नवलपुरको देवचुली नगरपालिका स्थित पिप्रहर सामुदायिक होमस्टेमा सम्पन्न महासंघ केन्द्रीय कार्यसमिति र संगठनको संयुक्त भेलाले सो निर्णय गरेको हो । बैठकले सदस्यता थपका लागि नयाँ कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

नयाँ सदस्यताका थप गर्न ७७ वटै जिल्लामा यही पुस मसान्तसम्मको म्याद थप गरिएको छ भने माघ १५ गते भित्र जिल्लामा आएका सदस्यहरुको छानबिनसहित प्रदेशमा पठाउने समय तालिका दिइएको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार प्रदेशले फागुन १५ सम्म जाँचबुझ गर्ने र त्यसपछि केन्द्रमा पठाउन निर्देशन गरिएको छ । केन्द्रले १५ दिनसम्म छानबिन र जाँच गरी चैत मसान्तसम्म सदस्यहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका पारित गरिएको अध्यक्ष आचार्यले बताए ।

पत्रकार महासंघ श्रमजिवीहरुको संगठन भएकाले विशुद्धरुपमा पत्रकारिता गर्ने बाहेकका अन्य व्यक्तिलाई सदस्यता वितरणमा रोक लगाउने परिपत्र छिट्टै केन्द्रबाट देशैभरका शाखाहरुमा प्रवाह गर्ने आचार्यले जानकारी दिए । कार्यविधिमा उल्लेख भएका नियमहरु कार्यान्वयन गर्न निर्देशन दिँदै कार्यतालिका र कार्यविधि पूरा गरेर आउने व्यक्तिलाई मात्रै सदस्यता दिन निर्देशन गरिएको आचार्यले बताए । कार्यविधि कार्यान्वयन पश्चात महासंघको सदस्यता शुद्धिकरण हुने आचार्यको दाबी छ । यद्यपि शिक्षक, वकिल, प्राध्यापकलाई भने यथेष्ट पत्रकारिताको प्रमाण पेस गरी सदस्यता नविकरण एवम् नयाँ सदस्यता माग गर्न सक्ने पनि बैठकमा सहमति भएको आचार्यले जानकारी दिए ।

यस्तै नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको पूर्वतयारीमा समेत जुटेको महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले जानकारी दिए । आउँदो कार्यसमिति प्रत्यक्ष मतदानको विधिबाट चुनिने भएकाले सोही अनुसार केन्द्रीय समितिले तयारी सुरु गरेको पोखरेलले बताए । वर्तमान कार्यसमितिको म्याद आगामी भदौमा सकिने र सबै कामहरु समयमै सकिए महाधिवेशन समयमै हुने अन्यथा विद्यानमा उल्लेख भए अनुसार ६ महिना थप्न सकिने पनि बैठकमा प्रष्ट पारिएको पोखरेलले जानकारी दिए । भोट खसाल्नका लागि मात्रै आस्थाका आधारमा जसलाई पायो त्यसलाई अब सदस्यता वितरण नगर्ने उनले दाबी गरे । अब महासंघमा पार्टीका कार्यकर्ता सरकारी जागिरे, जनप्रतिनिधिहरुले आस्थाको आधारमा सदस्यता नपाउने उनले बताए । जसका लागि सदस्यता प्राप्ति तथा नविकरण कार्यविधि निर्देशिका–२०७६ पनि भेलाले पारित गरेको पोखरेलले बताए । अबबाट कुनै पनि राजनीतिक दल तथा तिनका भातृ संगठनको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारी रहेको, निजामति कर्मचारी, जनप्रतिनिधि र सुरक्षा निकायमा रहेका व्यक्तिलाई सदस्यता नदिने र नविकरण पनि नगरिने सहमति भएको रमेश विष्टले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ नवलपुर शाखाको संयोजनमा सम्पन्न भेला तथा बैठकमा देशभरका करिब ६० पत्रकारहरुको सहभागिता रहेको थियो । भेलामा केन्द्रीय समितिका पदाधिकारी, महासंघका प्रदेश अध्यक्ष, विभिन्न जिल्लाका अध्यक्ष, पत्रकारका संघसंगठनका प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>