गण्डकी

तनहुँमा सिसी क्यामराले आपराधिक गतिविधि नियन्त्रण सहज

Banner

दमौली, मंसिर ७-

राजमार्गमा हुने सवारी दुर्घटना र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले विभिन्न ठाउँमा सीसी क्यामरा जडान गरेपछि प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सहज भएको छ ।

नगरपालिकाले पृथ्वीराजमार्गको कोत्रेदेखि शेराटारसम्मका सडक तथा बजार क्षेत्रका मुख्य स्थानमा करिब २१ लाखको लागतमा सीसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखाप्रमुख त्रिचोलन लम्सालले बताए ।
लम्सालका अनुसार शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी, वडा नं ८ को वडा कार्यालय, गणेश टोल तथा हिमाली टोलको बीच भाग, इलाका प्रहरी कार्यालयलगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ । लम्सालले शान्तिसुरक्षा कायम गर्न सिसी क्यामरा प्रभावकारी देखिएको जनाउँदै नगरपालिका क्षेत्रका अन्य ठाउँमा पनि क्रमशः सिसी क्यामरा थप गर्दै लगिने बताए ।

सिसी क्यामरा निगरानीको व्यवस्थापन इलाका प्रहरी कार्यालय बेलचौताराले गरेको छ । प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाइएको छ । प्रहरीले चौबिसै घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए।

प्रहरी निरीक्षक गिरीका अनुसार सीसी क्यामराको सहयोगबाट दुलेगौडामा केही दिन अगाडि सुन पसलबाट चोरी भएको गहना फिर्ता गराउन प्रहरी सफल भएको छ । ‘सिसी क्यामरा जडानपछि आपराधिक गतिविधि गर्ने प्रवृत्तिका व्यक्ति तर्सिन्छन्’, गिरीले भने, ‘ जसले गर्दा चोरी, डकैती लगायतका घटनामा कमी आउँछ ।’ रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>