चितवन विशेष

अहेव (सीएमए) को कार्यक्षेत्रबारे स्वास्थ्य व्यवसायी परिषद्को ध्यानाकर्षण, चितवनको घटनामा अनुसन्धान गर्ने

०
Banner

चितवन, कार्तिक २७–

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले अहेव (सीएमए) स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण, जाँच तथा एन्टिबायोटिकलगायतका औषधि सिफारिस गर्न पाउने वा नपाउने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचार र परिषद्मा प्राप्त उजुरीप्रति ध्यानाकर्षण भएको जनाउँदै परिषद्ले चितवनको माडी नगरपालिका–३ मा अहेवअन्तर्गतका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गरेको विषयमा समेत आवश्यक अनुसन्धान गर्ने जनाएको हो ।

परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा स्वास्थ्यकर्मीले आफ्नो शैक्षिक योग्यता, व्यावसायिक दर्ता, निर्धारित कार्यक्षेत्र तथा आचारसंहिताको अधीनमा रहेर मात्र स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने स्पष्ट पारेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३, नियमावली, २०५६ तथा परिषद्बाट निर्धारित व्यावसायिक आचारसंहिता र सम्बन्धित प्रावधानअनुसार परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीले आफ्नो व्यावसायिक कार्यक्षेत्रभित्र रही बिरामीको स्वास्थ्य परीक्षण, जाँच तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सक्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सेवा प्रवाहका क्रममा कुनै स्वास्थ्यकर्मीबाट व्यावसायिक आचारसंहिता वा निर्धारित कार्यक्षेत्रको उल्लङ्घन भएको पाइएमा ऐन तथा नियमावलीबमोजिम छानबिन गरी आवश्यक कारबाही गरिने परिषद्ले जनाएको छ ।

चितवनको घटनाका सम्बन्धमा परिषद्ले आफू जानकार रहेको उल्लेख गर्दै प्राप्त निवेदन, उजुरी तथा उपलब्ध तथ्य र प्रमाणका आधारमा थप अनुसन्धान, जाँचबुझ तथा अध्ययन गरी प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, स्वास्थ्यकर्मीको व्यावसायिक कार्यक्षेत्र, अधिकार तथा जिम्मेवारीसम्बन्धी विषयमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि परिषद्बाट आधिकारिक जानकारी लिई तथ्य पुष्टि गरेर मात्र जिम्मेवार सञ्चार गर्न सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

परिषद्ले सम्पूर्ण स्वास्थ्यकर्मीलाई आफ्नो व्यावसायिक मर्यादा कायम राख्दै निर्धारित आचारसंहिता र कार्यक्षेत्रभित्र रहेर सुरक्षित, गुणस्तरीय तथा जिम्मेवार स्वास्थ्य सेवा प्रदान गर्न पनि अनुरोध गरेको छ । परिषद्का रजिस्ट्रार रमेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवाको गुणस्तर, स्वास्थ्यकर्मीको व्यावसायिक मर्यादा तथा आम नागरिकको सुरक्षित स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न परिषद् प्रतिबद्ध रहेको उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>