राजनीति
सरकारको आलोचनामा कांग्रेस, एमाले कार्यशैलीमाथि प्रश्न

काठमाडौं, कार्तिक २८-
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक संस्था, सरकारको स्थायित्व तथा शासकीय क्षमताका विषयमा सरकारको आलोचना गरेका हुन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री शिवाकोटीले सरकारको आलोचना गर्नेहरूलाई नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए।
उनले आफू विदेशमा रहेका बेला साइबर ब्युरोमा उजुरी परेको र सोही उजुरीका आधारमा प्रहरीले बोलाएर प्रधानमन्त्री, उनका सल्लाहकार तथा उनीनिकट व्यक्तिहरूबारे लेखिएको सामग्री हटाउन दबाब दिएको दाबी गरे।
‘म काठमाडौंमा नभएको, नेपालबाहिर रहेको बेलामा साइबर ब्युरोमा मविरुद्ध उजुरी परेको थियो। त्यही उजुरीका आधारमा प्रहरीले बोलाउँछ र प्रधानमन्त्री, उनका सल्लाहकार तथा वरिपरिका मानिसका सन्दर्भमा लेखिएको सामग्री हटाउन भन्छ। त्यसमा राजनीतिक रूपमा अडान लिँदा पनि सम्झौता गर्न दबाब दिन्छ,’ उनले भने।
राजनीतिक दलका पदाधिकारीमाथि नै यस्तो व्यवहार भइरहेको अवस्थामा आम नागरिकले कस्तो परिस्थिति भोगिरहेका होलान् भन्ने प्रश्न उनले गरे। सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्ने र पत्रकारलाई नियन्त्रणमा लिने घटनाले अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।
‘राजनीतिक दलको पदाधिकारी तहकै व्यक्तिमाथि सरकारले यस्तो गरिरहेको छ भने आम नागरिकमाथि के भइरहेको होला, सजिलै अनुमान गर्न सकिन्छ,’ उनले भने।
शिवाकोटीले लोकतन्त्र निर्वाचनमार्फत सरकार गठन गर्ने र सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा मात्र सीमित नहुने बताए। राज्यका निकाय, संवैधानिक अङ्ग, सञ्चारमाध्यम तथा कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढिरहेको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको बताए।
























