चितवन विशेष
मौलाकालिका मन्दिरमा गण्डकी प्रदेश स्तरिय गुरुकुल सम्मेलन हुँदै

चितवन, कार्तिक २८–
गुरुकुल शिक्षाको संरक्षण, संबद्र्धन, गुणस्तरियता र युगानुकूल रुपान्तरणका लागि गण्डकी प्रदेश स्तरिय गुरुकुल सम्मेलन हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्र बलझुण्डी दाङको आयोजनामा मौलाकालिका संस्कृत विद्यापीठ तथा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरमा यही कार्तिक २८ गतेदेखि ३० गतेसम्म प्रदेश स्तरिय गुरुकुल सम्मेलन हुन लागेको हो ।
नेपालको प्राचीन ज्ञानपरम्परा, वैदिक वाङ्मय, संस्कृत शिक्षा, मौलिक संस्कृति तथा नैतिक मूल्यहरुको संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका गुरुकुलहरुको संस्थागत विकास, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश स्तरिय सम्मेलन आयोजना गर्न लागिएको शुक्रबार गैँडाकोटमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । तीन दिनसम्म हुने सम्मेलनले गुरुकृुल शिक्षाको गुणस्तर, संस्थागत व्यवस्थापन, शैक्षिक उपलब्धि दिर्घकालिन विकासका लागि साझा दृष्टिकोण निर्माण गर्ने लक्ष्य राखिएको गुरुकुल सम्मेलनको सदस्य सचिव डा.रामचन्द्र कंडेलले जानकारी दिए । उनका अनुसार गुरुशिष्य परमपरामा आधारित गुरुकुल शिक्षा नेपाली सभ्यताको प्राचीन र विशिष्ट शैक्षिक सम्पदा हो । यसमा वैदिक ज्ञान, दर्शन, संस्कृत साहित्य, व्याकरण, ज्योतिष, आयुर्वेद, योग, अध्यात्म नैतिक शिक्षा तथा जीविकोपयोगी ज्ञानको हस्तान्तरणमा गुरुकुलहरुको योगदान रहँदै आएको छ । यसलाई संरक्षण गर्नका लागि सम्मेलनको आयोजना गरिएको उनले बताए ।
‘गुरुकुल शिक्षा केवल किताबी ज्ञानमा सिमित नभई अनुशासन, सदाचार, आत्मसंयम, सेवाभाव, चरित्र निर्माण र समग्र व्यक्तित्व विकाससँग समेत अभिन्न रुपमा जोडिएको छ,’ उनले भने ‘गुरुकुलहरुको संस्थागत सुदृढीकरण, शैक्षिक व्यवस्थापन, स्रोतसाधनको उपलब्धता, शिक्षकको क्षमता विकास, पाठ्यक्रमको समयनुकूल परिमार्जन तथा पारस्परिक सहकार्यका विषयहरु थप महत्वपूर्ण बनेका छन् ।’ गण्डकी प्रदेश गुरुकुल शिक्षाको ऐतिहासिक परम्परा, धार्मिक सांस्कृतिक सम्पदा तथा वैदिक ज्ञानपरम्पराका दृष्टिले महत्वपूण क्षेत्र हो । गण्डकीका मनाङ, मुस्ताङ र म्याग्दी बाहेक सबै जिल्लामा गुरुकुलम कक्षाहरु सञ्चालन हुँदै आएका छन् । गण्डकीमा ११ जिल्लामा संस्कृत मावि, गुरुकुलम, पीडी, पाठशाला, वेददाङ्ग गरी ४४ वटा रहेका छन् । त्यसमध्ये दुई वटामा आचार्यसम्मका कक्षा सञ्चालन हुँदै आएको उनले बताए । अहिले युवा सहित पाका उमेरका मानिसहरुले समेत गुरुकुलम कक्षा लिइरहेको उनले बताए ।
‘पछिल्लो समय पश्चिमा देशहरुमा समेत संस्कृतको महत्व बढ्दै गएको छ । यसको अध्ययनमा पूर्व सचिव तथा शैक्षिक व्यक्तिहरु पनि हुनुहुन्छ,’ उनले भने ‘विदेशमा राम्रो स्कोप भएकाले पनि कर्मकाण्डी पढेर विदेश जाने युवाको संख्या बढ्दै गएको छ ।’ हाल नेपालमा करिव २५० गुरुकुल सरकारी निकायमा दर्ता भएका छन् । त्यसमध्ये १५० गुरुकुल सञ्चालनमा रहेको तथ्यांङ्क रहेको उनले जानकारी दिए । सम्मेलनमा गण्डकीका विभिन्न जिल्लामा सञ्चालित गुरुकुलका प्रतिनिधि, नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक कर्मचारी, कार्यपत्र लेखक, टिप्पणीकार, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहने जनाईएको छ ।
उद्घाटन सत्रमा २१६ जनाको सहभागिता रहने कार्यक्रममा गुरुकुलहरुमा प्रचलित अध्ययन अध्यापन विधिमा सुधार गर्दै आधुनिक शिक्षण पद्धति तथा सूचना सञ्चार प्रविधिसँग जोड्ने विषयमा छलफल हुनेछ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालय, धार्मिक सेवासमिति मौलाकालिका मन्दिर तथा मौलाकालिका संस्कृत विद्यापीठको सहयोग तथा व्यवस्थापनमा सम्मेलन सञ्चालन हुँदैछ ।
























