देश/प्रदेश
प्रदेश सरकार मातहतका योजना समयमै सम्पन्न हुनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौडा कात्तिक ८ –
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहत रहेर शुरु भएका आयोजना समयमै सम्पन्न हुनुपर्ने बताएका छन । सामाजिक विकास मन्त्रालयको रु पाँच करोड लागतमा निर्माणाधीन फुटबल मैदानको निर्माण कार्यको आज अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मैदान निर्माणको काम समय सीमाभित्रै सम्पन्न गर्न निर्देशन दिए।
हेटौँडाको गौरीटार रङ्गशाला हाताभित्र निर्माणाधीन मैदानको अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले २०७६ सालभित्रै अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान पाउने उल्लेख गरे । मैदानको निर्माणपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने हुँदा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकाससमेत हुने हुँदा रङ्गशाला तथा यसभित्रका संरचना निर्माण हुँदा स्थानीयले समेत चासो दिनुपर्ने धारणा राखे ।
बाटो घाटो र पुल पुलेसोलाई मात्रै विकास देख्नु नहुने भन्दै मुख्यमन्त्री पौडेलले देशको विकासका लागि स्तरीय रङ्गशालासमेत आवश्यक पर्ने धारणा राखे । “यस मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्ने हो भने बाटो घाटो मात्र हैन, देशको मुहार नै फेर्न सक्छौँ”, उनले भने ।
अवलोकनमा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले निर्माणकार्यको अवस्थाको बारेमा जानकारी गराएका थिए । अवलोकनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता रहेको थियो । रासस























