देश/प्रदेश

नेपाल–चीन कोरला नाकामा सुरक्षा बन्दोबस्तको तयारी

Banner

कमल खत्री

बेनी, कात्तिक ४-

समथर भू–भाग । उजाड फाँट । हिमाली मरुभूमिलाई आंशिक रुपमा हिमालबाट घेरिएको छ । समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको स्तम्भ ठडिएको छ । नेपाल–चीन सिमानामा पर्ने कोरला नाकाको यो स्तम्भ नै नेपालतर्फको एक मात्रै देखिने चिनारी हो । स्तम्भको अगाडि धमाधम चिनियाँ पक्षले पूर्वाधार बनाइरहेको छ । द्विपक्षीय सम्झौताअनुसार ‘कोरला नाका’मा चिनियाँ पक्षले भन्सार लगायतको प्रयोजनका लागि विशाल भवन निर्माण गरिसकेको छ ।

सिमानामा आफ्नो देशको राष्ट्रिय झण्डा फहराउँदै चीनले सुरक्षाका लागि पुलिससँगै सीमा नजीकै सेना समेत परिचालन गरिसकेको छ । नाका सञ्चालनकै लागि चिनीयाँ पक्षबाट नाकासम्म कालोपत्रे सडक निर्माण गरिसकेको छ । यहाँ नेपाली पक्षबाट भने पूर्वाधार निर्माण शुरु समेत हुन सकेको छैन । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि कोरला नाका सञ्चालनबारे चौतर्फी चासो बढे पनि नाका सञ्चालनका लागि आवश्यक तयारी र पूर्वाधार निर्माणमा नेपाल सरकारले आवश्यक कदम अघि बढाउन नसकेको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष हिम्जिङ दोर्जे विष्टले बताए ।

“नाका सञ्चालनको चासो सबैतिर छ, स्थानीय र प्रदेश सरकारले पनि यसलाई आफ्नो अभिन्न एजेण्डा बनाएका छन्, पूर्वाधार निर्माणमा सङ्घीय सरकारकै चासो रहनु जरुरी छ,” विष्टले भने । अहिले कोरला नाकामा २४ नम्बरको स्तम्भ बाहेक सिमानामा नेपाली पक्षको कुनै पनि संरचना छैन ।

सम्झौता भएको वर्षौं बितिसक्दा पनि भन्सार, सुरक्षा लगायतका पूर्वाधार निर्माण र प्रवन्ध नहुँदा नाका सञ्चालनबारे आशङ्का उत्पन्न भएको पोखराबाट कोरला नाकामा पुग्नुभएका बलबहादुर थापाले बताए । “चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ, सुरक्षाको प्रवन्ध सँगै भवनहरु पनि बनाइसके, हाम्रो भूमिमा न त सीमामा सुरक्षा गस्ती छ, न राष्ट्रिय झण्डा नै फहराइएको छ,” उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मार्चमा भएको औपचारिक भ्रमणका बेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । सन् २०१८ को जुनमा भएको औपचारिक भ्रमणका समयमा दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो । कोरला नाकामा अहिले वर्षमा दुई पटक मात्रै मेला लगाएर उपल्लो मुस्ताङवासी र चिनियाँ व्यापारीले सामान किनबेच गर्दैआएका छन् । यो नाकासँग उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर जोडिने भएकाले नाका सञ्चालनमा आए मुस्ताङ मात्रै नभएर गण्डकी प्रदेशसहित मुलुककै लागि अन्तर–देशीय व्यापार र पारवहनको भरपर्दो ‘भाग्यरेखा’ तयार हुने अपेक्षा गरिएको छ ।

प्रदेशद्वार बनाइने

पछिल्लो समय निकै चासोको विषय बनेको कोरला नाकामा लोमन्थाङ गाउँपालिकाले प्रदेशद्वार निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाले प्रदेशद्वार निर्माणका लागि रु १ करोड ११ लाख बजेट विनियोजन गरेको वडा नं ५ का वडाध्यक्ष विष्टले बताए । उनका अनुसार कोरला नाकामै आकर्षक द्वार बनाउने तयारी गरिएको छ । हिमाली मरुभूमि र हिमशृङ्खलाको अवलोकनका लागि नाकासम्म आन्तरिक तथा बाह्य पर्यटक पुग्ने क्रम बढेपछि प्रदेशद्वार निर्माण गर्न लागिएको हो ।

कुराले मात्रै नाका खुल्दैन

कोरला नाका सञ्चालनका लागि काम भन्दा बढी कुरा मात्रै भएको लोमन्थाङका स्थानीयवासीको गुनासो छ । मुस्ताङको मात्रै नभएर साविक धवलागिरि क्षेत्रसँगै गण्डकी प्रदेशकै भाग्यरेखा मानिएको यस नाका सञ्चालनका लागि पूर्वाधार निर्माणको सुस्तता प्रमुख समस्याको रुपमा देखिएको लोमन्थाङका स्थानीय अगुवा ज्ञानेन्द्र विष्टले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको लोमन्थाङ गाउँपालिका अध्यक्षसमेत रहनुभएका विष्ट नाका खुलाउने सन्दर्भमा गाउँपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारले उच्च प्राथमिकता दिएर आवश्यक काम अगाडि बढाउनुपर्ने बताउछन । “कोरला रणनीतिक र व्यापारिक महत्वको नाका हो, यसलाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन सके यसले मुलुककै लागि हित गर्छ, नाका खुल्ने आशा त छ तर, पूर्वाधार नभएसम्म कुराले मात्रै नाका खुल्न सक्दैन,” बिष्टले भने।

नाकालाई लक्ष्य गरी चीनले ९० प्रतिशत पूर्वाधार तयार गरिसकेको भए पनि नेपाली पक्षबाट भने पूर्वाधार निर्माणमा ढिलाइ हुन पुगेको मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए। “चीनले सबै पूर्वाधार तयार गरिसकेको छ, अब नेपाली पक्षले पूर्वाधार निर्माण र एक चीन नीतिमा विश्वस्त बनाउन सक्यौँ भने कोरला नाका निकट भविष्यमै खुल्न सक्छ,” उनले भने । केही समय अघि भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण टोलीमा समेत सहभागी तुलाचनले चिनियाँ पक्ष कोरला नाका सञ्चालन गर्न आतुर रहेको पाएको बताए ।

नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आफूले अर्थमन्त्री र सम्बद्ध निकायलाई आवश्यक बजेट व्यवस्थापनका लागि निरन्तर ध्यानाकर्षण गराउँदैआएको उनी बताउछन । सरकारले कोरलासँगै चीनसँग जोडिएका चार वटा नाका पुनः सञ्चालनमा ल्याउन भित्री रुपमा आवश्यक कार्यलाई अघि बढाएको प्रतिक्रिया पाएको तुलाचनले जानकारी दिए । नाका परिसरमा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करीब एक हजार रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भैसकेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सशस्त्रको पोष्ट स्थापना गरिने

कोरला नाका सञ्चालनका लागि पूर्वाधार सँगै सुरक्षा बन्दोबस्तलाई समेत अघि बढाइएको छ । अहिले लोमन्थाङमा सीमा प्रहरी चौकी र छोसेरको नेचुङमा इलाका प्रहरी कार्यालय रहेको छ । सीमा सुरक्षालाई ध्यानमा राख्दै कोरला नाकादेखि १४ किलोमिटर यता नेचुङ्गमा सशस्त्र प्रहरी बलको पोष्ट स्थापना गर्ने तयारी गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, बोर्डर आउट पोष्टको रुपमा सशस्त्रको पोष्ट राख्न जिल्ला सुरक्षा समितिमार्फत निर्णय भई गृहमन्त्रालयमा पत्राचार गरिएको छ । तत्काललाई सशस्त्र प्रहरीको क्याम्प नेचुङ्ग भन्सार कार्यालय र क्वारेन्टाइन भवनमा राख्ने प्रवन्ध मिलाइने भएको बुझिएको छ । तिहार लगत्तै पोष्ट राख्ने तयारी गरिएको छ । उक्त पोष्टले सीमा स्तम्भको सुरक्षासँगै राजश्व चुहावट रोक्न गस्ती गर्नेछ । पोष्टका लागि जग्गा प्राप्त भैसकेको छ । नेचुङमा सशस्त्रसँगै नेपाल प्रहरी, भन्सार, जाँच स्थल लगायतको छुट्टाछुट्टै भवनका लागि १५० रोपनीभन्दा बढी जग्गा प्राप्तिको काम सम्पन्न भैसकेको छ ।

उपल्लो मुस्ताङ क्षेत्रको सुरक्षालाई ध्यानमा राख्दै कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भू–भागमा पर्ने लोमन्थाङको लुंखुफाँटमा नेपाली सेनाको शिविर स्थापना भइककेको छ । जिल्ला सुरक्षा समितिले लोमन्थाङस्थित सीमा प्रहरी चौकीलाई ‘क’ श्रेणीको इलाका प्रहरी कार्यालयको रुपमा स्तरवृद्धि गर्न र इलाका प्रहरी कार्यालय छोसेरलाई सीमा प्रहरी चौकीको रुपमा रुपान्तरण गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरिदिन गृह मन्त्रालयमा पत्राचार गरिएको प्रजिअ अर्यालले जानकारी दिए।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सुस्त छ । कोरला नाका सञ्चालनको बलियो आधारको रुपमा लिइएको यो सडक स्तरोन्नति गर्ने योजनामा ढिलाइ हुँदा यस क्षेत्रका सरोकारवाला चिन्तित छन् । आयोजना अन्तर्गत बेनी–जोमसोमको ७६ किलोमिटरको सडकमा विभिन्न चार वटा प्याकेजमा सडक कालोपत्रसहित स्तरोन्नति गर्न शुरु गरिए पनि निर्माण कार्य सुस्त छ । यस खण्डमा अहिलेसम्म ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक स्तरोन्नतिको योजनालाई गति दिन आयोजना र सम्बन्धित निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताए।

बेनी–जोमसोम खण्डसँगै जोमसोम–कोरला खण्डको सडक स्तरोन्नति कार्य समेत सुस्त छ । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि समर–भेङ्गे र चराङ–छोसेर खण्डको सडक स्तरोन्नतिको काम सुस्त रहेको तुलाचनले जानकारी दिए ।

छोसेरदेखि कोरला नाकाको २४ नम्बर स्तम्भसम्मको १६ किलोमिटर सडक स्तरोन्नतिको काम मात्रै सकिएको छ । बेनी–जोमसोम सडक र जोमसोम–कोरला सडक ११/११ मिटर चौडाइका हुन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>