देश/प्रदेश
प्राविधिक समस्या आएपछि गैरआवासीय नेपाली संघको निर्वाचन स्थगित

काठमाडौं, असोज २९–
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वका लागि आज राती सुरु भएको निर्वाचन स्थगित भएको छ । अबेर साँझ सुरु भएको इलेक्ट्रोनिक मतदानको क्रममा प्राविधिक समस्या भएपछि निर्वाचन नै स्थगित गरिएको छ । निर्वाचन कार्य भोलि (बिहीबार) विहान १० बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
आज साँझ ७ बजेदेखि निर्वाचन सुरु गर्ने कार्यतालिका रहे पनि असन्तुष्ट समूहको होहल्लाको कारण ढिलो गरी निर्वाचन सुरु भएको थियो । नयाँ नेतृत्वका लागि ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता भएको संघका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।
मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । संघको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।
‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको संघको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेछन् ।