समाज

दशैँको महाष्टमी पर्वः विभिन्न शक्तिपीठहरूमा पशुबलीसहित पूजाआजा गरिँदै

Banner

चितवन,असोज १९-

बडाशैँको आठौँ दिन महाअष्टमी पर्व आज दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दशैँको अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाइ पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने उहाँले बताउनुभयो ।

पशुबली नचढाउनेहरुले भने अष्टमीको दिन पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाइ पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलीसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

यस दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायतका मन्दिरहरुमा बलीसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी पूजाआजा गरिन्छ । यी साधनलाई पनि देवीको शस्त्र–अस्त्रका रुपमा मानेर पूजा गर्ने गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>