Breaking News
रास्वपा महाधिवेशन बन्द सत्रका लागि उद्योग संघले दियो स्वीकृति, गेष्टहाउस चौरमा धमाधम संरचना निर्माण

चितवन, असार ४–
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तिव्र पारिएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुँदैछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ । बन्द सत्रका लागि संघले आज मात्रै रास्वपालाई स्वीकृति दिएको छ । बन्दसत्र प्रदर्शनी केन्द्रमा गर्ने पार्टीले निर्णय लिए पनि केही प्राविधिक विषयले संघ र रास्वपाबीच सम्झौता हुन सकेको थिएन । त्यो विषय पनि टुङ्गिएका कारण बन्दसत्र राख्न संघले स्वीकृति दिएको संघका अध्यक्ष मदन घिमिरेले जानकारी दिए ।
यस्तै उद्घाटन सत्र भने घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्यांगर’भित्र गरिदैछ । ‘जर्मन ह्याङ्गर’ अस्थायी तर बलियो टेन्ट हो । अल्मुनियमको संरचनामा ‘टेनसाइल फेब्रिक’को छानो हुन्छ । जसले गर्दा घामपानी, हुरीबतासका साथै आगलागीबाट पनि जोगिने छ । उद्घाटन कार्यक्रमका लागि पाँच हजार कुर्सी राख्न मिल्ने गरेर ‘जर्मन ह्याङ्गर’का तीन खण्ड तयार हुने छन् । काठमाडौंको मिडिया स्पेस सोलुसनले ती संरचना बनाउँदै छ । पोखराको लिटरेचर फेस्टिबल लगायतका अन्य प्रदर्शनीमा यस्ता संरचना बनाइसकेको मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए । मुख्य खण्ड २० मिटर चौडा र ७५ मिटर लम्बाइको हुन्छ ।
मुख्य खण्डको आडमा दायाँबायाँ २० मिटर चौडा र ३० मिटर लम्बाइका थप दुईवटा खण्ड रहने छन् । दुई पाखे ह्याङ्गरको माथिल्लो उचाइ २४ फिट र छेउको उचाइ १६ फिट रहनेछ । पाँच हजार कुर्सीका साथै बिना कुर्सी पनि मान्छेहरू बस्न मिल्ने गरेर उद्घाटन स्थलमा ‘ह्याङ्गर’ तयार हुनेछ ।
जर्मन ह्यांगर टेन्ट विभिन्न कार्यक्रम, प्रदर्शनी, प्रोडक्ट लन्च, सांस्कृतिक कार्यक्रम तथा विवाह समारोहका लागि प्रयोग गरिने अस्थायी संरचना हो । यो मुख्यतः एल्युमिनियमका स्पान प्रयोग गरी बनाइन्छ । बलियो, टिकाउ र छिटो जडान गर्न सकिने भएकाले जर्मन ह्यांगर ठूला सार्वजनिक तथा व्यावसायिक कार्यक्रमहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ । ‘ह्यांगर’ शब्द मध्य फ्रान्सेली भाषाको ह्यांगहार्टबाट आएको मानिन्छ, जसको अर्थ घर नजिकको घेराबारयुक्त संरचना भन्ने हुन्छ ।
लगभग ३० हजार वर्ग फिट क्षेत्रमा घामपानी छेक्ने र हुरीबतासले बिगार्न नसक्ने ह्यांगर बन्ने भट्टराईले जानकारी दिए । जर्मन ह्याङ्गरभित्र १०र१२ हजार मान्छे अट्न सक्ने अनुमान छ । चितवनमा गर्मी अत्यधिक छ । वर्षातको समय भएका कारण खुला चौरमा कार्यक्रम गर्दा असर पर्न सक्ने भएका कारण अस्थायी भए पनि बलियो संरचना तयार गरेको आयोजकले जानकारी दिए ।
आइतबार उद्घाटन हुने रास्वपाको महाधिवेशनन मंगलबार सकिने छ ।























