समाचार

विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि

Banner

कञ्चनपुर,असार ४ –

वर्षायाममा छानाबाट चुहिने पानी थाप्दै अनिँदो रात काट्नुपर्ने, हुरी र विषालु किराको डरैडरमा जीर्ण कच्ची झुपडीमा बस्नुपर्ने जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित मुक्ति टोलका मुक्तकमैया परिवारको कष्टकर अवस्था अब फेरिने भएको छ ।

वडा कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार र कनेक्ट परियोजनाको संयुक्त लगानीमा यस विपन्न बस्तीमा तीव्र रूपमा सुरक्षित पक्की आवास निर्माण सुरु भएसँगै वर्षौंदेखि असुरक्षित बसोबासको सास्ती खेप्दै आएका परिवारहरूको सुरक्षित घरमा बस्ने सपना साकार हुन थालेको हो ।

“वर्षौंदेखि कच्ची घरमा दुःख गरेर बस्यौँ, बर्सातका बेला छाना चुहिन्थ्यो, रातभर पानी थाप्दै अनिदै बस्नुपथ्र्यो”, मुक्ति टोलकी गुजेश्वरी वडायकले विगतको पीडा सम्झँदै भन्नुभयो, “सर्प, बिच्छी र अन्य विषालु किराको डर सधैँ हुन्थ्यो ।” उहाँ भन्नुहुन्छ, “आगलागीको त्रास उत्तिकै थियो, गाउँका धेरैजसोका पक्की घर बने, तर गरिबीका कारण हामीले घर बनाउन सकेनौँ, मजदुरी गरेर परिवार पाल्दै आएका हामीलाई सुरक्षित आवासको कुरा सपनाजस्तै लाग्थ्यो, अहिले त्यो सपना विस्तारै पूरा हुँदै गएको छ ।”

स्थानीय कल्पना चौधरीले पनि कच्ची घरमा बस्दाको सकस सुनाउनुभयो । “सानो र जीर्ण घरमा परिवारसँग बस्न निकै कठिन थियो, पानी पर्दा घरभित्रै पानी पस्ने, हावाहुरी चल्दा रातभर डराएर बस्नुपर्ने अवस्था थियो, अहिले सुरक्षित पक्की घर बन्न थालेपछि अब ढुक्क भएर बस्न पाइने आशा जागेको छ”, उहाँले भन्नुभयो ।

मुक्तकमैया समुदायको बाहुल्यता रहेको मुक्ति टोलमा करिब तीन सय परिवारको बसोबास छ । वर्षौंदेखि विपन्नता र असुरक्षित बसोबासको समस्या झेल्दै आएका ती परिवारका लागि १५ वटा पक्की सुरक्षित आवास निर्माण भइरहेका छन् । एउटै डिजाइनमा बनिरहेका यी प्रत्येक घरमा दुई कोठा, भान्सा तथा शौचालयको व्यवस्था गरिएको छ । भवन निर्माणको कार्य ८० प्रतिशत पूरा भएको छ ।

वडा कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार, कनेक्ट परियोजना तथा उपभोक्ताको संयुक्त लगानीमा घर निर्माण भइरहेको शुक्लाफाँटा नगरपालिकाका इन्जिनियर लोकेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार वित्तीय साझेदारीअन्तर्गत वडा कार्यालयको रु एक लाख ४५ हजार, प्रदेश सरकारको रु तीन लाख पाँच हजार, कनेक्ट परियोजनाको रु एक लाख २० हजार तथा उपभोक्ताको रु एक लाख ६२ हजार गरी एक घर रु सात लाख ३२ हजारको लागतमा निर्माण भइरहेको छ । हालसम्म आवास निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर भट्टले बताउनुभयो ।

मुक्ति टोललाई व्यवस्थित र नमूना गाउँका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको वडा अध्यक्ष लालबहादुर ऐरले बताउनुभयो । “वर्षौंदेखि जोखिमपूर्ण कच्ची घरमा बस्दै आएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेका छौँ”, वडाध्यक्ष ऐरले भन्नुभयो, “हरेक वर्ष बजेट व्यवस्थापन गर्दै क्रमशः बाँकी रहेका सबै परिवारका लागि पक्की घर निर्माण गर्दै जाने नीति लिएका छौँ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>