Breaking News

चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

०
Banner

बेइजिङ, कात्तिक २३ –

चीनको उत्तरी प्रान्त शान्सीको राजधानी ताइयुआनस्थित एक अग्लो भवनमा आइतबार साँझ आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

स्थानीय यिङजे जिल्ला सरकार र सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, ताइयुआनको डाउनटाउनमा रहेको हाओशेङ इन्टरनेसनल अपार्टमेन्ट भवनमा स्थानीय समयानुसार आइतबार साँझ ४:५९ बजे आगलागी सुरु भएको थियो।

करिब दुई घण्टाको प्रयासपछि साँझ ७ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो भने राति ८:३० बजे उद्धार कार्य सकिएको थियो।

आइतबार राति ३८ जनालाई अस्पताल पुर्‍याइएकोमा ५ जनाको मृत्यु भइसकेको थियो। सोमबार बिहानसम्म मृतकको सङ्ख्या बढेर १४ पुगेको सिन्ह्वाले जनाएको छ।

यिङजे जिल्ला सरकारले घाइतेहरूको उपचारमा सम्पूर्ण प्रयास भइरहेको र आगलागीको कारणबारे अनुसन्धान जारी रहेको बताएको छ।

पाँचौँ तलाबाट सल्किएको थियो आगो, झ्याल फोडेर ज्यान जोगाए पाहुनाले

रियल इस्टेट प्लेटफर्म लियान्जियाका अनुसार उक्त भवन आवासीय र व्यावसायिक दुवै प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो।

अस्पताल, विद्यालय, व्यापारिक केन्द्र र पर्यटकीय क्षेत्र नजिकै रहेको यस भवनमा होटल, रेस्टुरेन्ट र बालबालिकाका शैक्षिक तालिम केन्द्रहरू समेत सञ्चालित रहेको जिमु न्युजले उल्लेख गरेको छ।

भवनस्थित एक होटलका कर्मचारीले जिमु न्युजलाई बताएअनुसार आगो पाँचौँ तलाबाट सुरु भएको अनुमान छ र आठौँ तलामा रहेका केही मानिस घाइते भएका थिए।

ती कर्मचारीले भवनको केही भाग बलिरहेकै बेला अग्निनियन्त्रकहरूलाई जीवित व्यक्तिहरूको खोजीमा सघाएका थिए।

त्यस्तै, होटलमा बसेका लान नामका एक पाहुनाले द बेइजिङ न्युजसँग कुरा गर्दै सुतिरहेको बेला धुवाँको गन्ध आएपछि तुरुन्तै बाथरुम गएर भिजेको तौलिया लिएर बाहिर निस्किएको बताए।

आपतकालीन निकास तर्फ जाँदै गर्दा बाटोमा भेटिएका अन्य पाँच जनासँग मिलेर उनीहरूले झ्यालको जाली लात्तीले हानेर फुटाए र भवनबाहिरको प्लेटफर्ममा निस्किएर उभिए। करिब ४० मिनेटपछि अग्निनियन्त्रकहरूले उनीहरूको उद्धार गरेका थिए।

सुरक्षा बैठक बसेको दुई सातामै दोस्रो ठूलो दुर्घटना

यो ताइयुआनमा यस वर्ष भएको दोस्रो ठूलो आगलागी हो। सहरका अधिकारीहरूले दुर्घटना रोक्ने विषयमा बैठक गरेको ठीक दुई सातापछि यो घटना भएको हो।

गत अक्टोबर २४ मा सहरको कार्य सुरक्षा समितिले कोइला खानी, रसायन, पटाका, उद्योग र निर्माण जस्ता उच्च जोखिमयुक्त क्षेत्रका साथै अग्ला भवनहरूको अग्नि सुरक्षा, ट्राफिक नियम र हिटर प्रणालीमा कडा निगरानी राख्न निर्देशन दिएको थियो।

यसअघि गत मार्चमा पनि हाओशेङ अपार्टमेन्टबाट करिब ६ किलोमिटर टाढा रहेको अर्को अग्लो भवनमा आगलागी हुँदा ३ जनाको मृत्यु र २३ जना घाइते भएका थिए। होटल, क्लिनिक, ल फर्म, कराओके बार र रेस्टुरेन्ट रहेको उक्त भवनमा रेस्टुरेन्टको धुवाँ निस्कने भेन्टिलेसन पाइपबाट आगो सल्किएर केही मिनेटमै माथिल्ला तलाहरूमा फैलिएको थियो।

नियमित सफा नगरिँदा ती पाइपहरू सुरक्षाका दृष्टिले घातक बनेको उद्धारकर्मीले बताएका थिए।

त्यसपछि गत अप्रिलमा ताइयुआनका मेयर फान झाओसेनले अग्ला भवनहरूमा आगलागीको जोखिम पूर्ण रूपमा हटाउन र सुरक्षामा कुनै पनि कमजोरी बाँकी नराख्न विशेष बैठक डाकेका थिए।

सुरक्षा विज्ञहरूले चीनमा भवन सुरक्षा नियमहरूको पालनामा गरिने ढिलासुस्तीका कारण यस्ता प्राणघातक आगलागीका घटना बढिरहेको बताएका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>