खैरहनी
छोरी बलात्कार गर्ने चितवनका एक बाबुलाई ४० वर्ष कैद

चितवन, असोज ६-
चितवन खैरहनी नगरपालिकाका ४० वर्षीय बाबुलाई आफ्नै छोरी बलात्कार गरी गर्भ बोकाएर पतनसमेत गराएको आरोपमा ४० वर्ष कैद सजायको फैसला भएको छ ।
१५ वर्षीय आफ्नै छोरीलाई बलात्कार गरी गर्भ बोकाएको भनी परेको मुद्दामा चितवन अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत असोज २ गते सो फैसला गरेको हो । यस घटनामा सहयोगी रहेकी पीडित बालिकाकी कान्छी आमालाई तीन महिना कैदसहित ३० हजार जरिवानाको फैसला गरिएको अदालतका सूचना अधिकारी श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।
हाडनाता वा बाबुछोरीबीचको सम्बन्धमा बलात्कार भएकाले २५ वर्षको सजाय तोकिएको उनले बताए । त्यस्तै पीडित १५ वर्षको बालिकाभएकाले १४ वर्ष कैद र एक वर्ष गर्भपतन गराएको आरोपमा ४० वर्ष कैद फैसला भएको अदालतले जनाएको छ । पीडित किशोरीले गत पुस १३ (शुक्रबार) आफैले बाबुविरुद्ध जाहेरी दिएकी थिइन् ।