क्रिकेट
क्रिकेट रंगशाला निर्माणका लागि गैँडाकोटमा सहयोग समिति, संयोजकमा उपप्रमुख कँडेल

गैँडाकोट, साउन २७-
चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आज गैँडाकोटमा नगरपालिकास्तरीय सहयोग समिति गठन भएको छ ।
गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेल संयोजक रहने गरी १३१ सदस्यीय सहयोग समिति गठन गरिने भएको हो । समितिमा नगर कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, विद्यालयको प्रतिनिधित्व रहने गरी प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरु रहने गरी समिति निर्माण गरिने भएको छ ।
समिति गठनको क्रममा भएको अन्तरक्रियामा जिल्ला समन्वय समिति चितवनकी उपसंयोजक मुनाकुमारी श्रेष्ठले रंगाशाला निर्माणका लागि सबै नगरबासीहरु एकजुट भएर सहयोग गर्न आग्रह गरिन् । त्यस्तै कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल(धुर्मुस)ले चितवनमा बन्न लागेको क्रिकेट रंगशाला गैँडाकोटसहित चितवनको गौरवको विषय भएको कुरा व्यक्त गरे । रंगशाला निर्माणको महायज्ञमा जति सकिन्छ सहयोग गर्न अपिलसमेत गरे । नेपाली मौलिकता झल्कने रंगशाला निर्माण गरिने र रंगशाला निर्माणको डीपीआरको काम दसैँसम्ममा सकिने विचार व्यक्त गर्दै गैँडाकोटलाई पनि प्रत्यक्षरुपमा फाइदा हुने र धार्मिक पर्यटकीय क्षेत्रको प्रर्बद्धन हने विश्वास व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षसमेत रहेका गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले रंगशाला निर्माणका लागि गैँडाकोट नगरपालिकाले सक्दो सहयोग गर्ने र आम गैँडाकोटबासीलाई समेत सहयोग गर्न अनुरोध गर्ने बताए । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कँडेल, नेपाल कम्युनिस्ट पार्टी गैँडाकोटका नगरकमिटी अध्यक्ष षडानन्द लामिछाने, सामाजिक अभियन्ता अर्जुन भुसाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लास्तरीय सहयोग समितिका सदस्य सचिव तथा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए ।