चितवन विशेष

चितवनमा आधा दर्जन घर डुबानमा, जनजीवन प्रभावित

Banner

चितवन, असार २९-

वर्षाका कारण राप्ती नगरपालिका–४ लक्ष्मी नारायण चोकमा आधा दर्जन घरहरु डुबानमा परेका छन् ।

लगातारको वर्षाका कारण तीन दिनदेखि त्यहाँका घर भित्रै पानी पसेको छ । जसका कारण शौच गर्न र खानेपानीको समस्या परेको स्थानीयको भनाइ छ । परेको पानी निकास गर्ने ठाउँ नहुँदा स्थानीय विष्णुप्रसाद दनै, रुपनारायण श्रेष्ठ, हुमादेवी श्रेष्ठ, हरिमाया दाहाल, टेकबहादुर श्रेष्ठलगायतको घर डुबानमा परेको हो ।

निकास नहुँदा जमेको पानीका कारण शौच गर्न जान पनि समस्या परेको स्थानीय पीडित विष्णुप्रसाद दनैले गुनासो गरे । उनले खानेपानीको समस्या पनि परेको जानकारी दिए । आफ्नो शौचालय र धारामा पानी जम्दा छिमेकीको गएर शौच गर्ने र पानी ल्याउनु परेको उनले बताए । घर भित्रै पानी पस्दा खाना पकाउन, सुत्नसमेत समस्या रहेको अन्य स्थानीयको गुनासो छ । लक्ष्मी नारायण चोकमा मार्ताल पुलदेखिको पानी आउने गर्छ । भौगोलिक रुपमा लक्ष्मी नारायण चोक गहिरो हुँदा त्यहाँ सामान्य पानी पर्दा समेत डुबान पर्ने गरेको छ । खहरे खोलामा पानी निकासी हुने गरेता पनि माछापोखरी बनाइएकाले निकास हुन नसकेको दनैको भनाइ छ ।

पानी निकासीका लागि पीडित स्थानीयबासीले आइतबार राप्ती ४ को वडा अध्यक्षलाई मौखिक जानकारी गराएका छन् । यस समस्याका बारे मेयर प्रभा वरालले लक्ष्मीनारायण चोक गहिरो स्थानमा हुँदा पानी निकासी हुन नसकेको बताइन् । पानी निकासीका लागि नगरपालिकाको तर्फबाट साधन पठाए पनि कुनै उपाय नलागेको मेयर बरालको भनाइ छ । लामो समयदेखिको समस्या रहदा आफू पनि दुःखी रहेको उल्लेख गर्दै मेयर बरालले संघीय सरकारसँग समन्वय गरेर पानी निकासीका लागि योजना अघि बढाइने बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>