खेलकुद
नवलपुरमा राष्ट्रपति रनिङ सिल्डको फाइनल खेल सुरु

नवलपुर, असार २३-
जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा भएको राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिताको फाइनल प्रतिस्पर्धा जनक नमुना माध्यमिक विद्यालय गैँडाकोटमा सुरु भएको छ ।
नगरपालिकास्तरीय खेलकुद प्रतियोगिताबाट विजयी बनेका विद्यालयका छात्र—छात्राहरुको बीचमा विभिन्न इभेन्ट्सहरुमा फाइनल प्रतिस्पर्धा सुरु भएको संयोजक विद्यालय जनक मावि गैँडाकोटका प्रधानाध्यापक चूडामणि शर्माले बताए । आज र भोलि दुई दिनसम्म आयोजना हुने प्रतिस्पर्धामा नगरपालिकास्तरीय प्रतियोगिताबाट छनौट हुने विद्यालयका करिब एक हजार भन्दा बढी विद्यार्थीको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद समितिका अध्यक्ष विकासकुमार केसीले बताए ।
त्यस प्रतियोगितामा सफल हुने विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको र उत्कृष्ट विद्यार्थीहरुले प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी हुन पाउने पनि अध्यक्ष केसीले बताए । त्यसैगरी आज गण्डकी प्रदेश सांसद कृष्णचन्द्र नेपालीले नेपालको झन्डाको झन्डोत्वलन गरेर प्रतियोगिताको उद्घाटन गरेका छन् ।
कार्यक्रममा सांसद नेपालीले खेल क्षेत्रले नेपालको नाम उच्च राख्न सफल भएकोले खेल क्षेत्रको विकासका लागि सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको र खेलाडीको उचित सम्मान नभएकामा चिन्ता ब्यक्त गरे । खेल आज र भोलि मंगलबारसम्म चल्नेछ भने पानी परेको कारण आजको खेल वर्षाले प्रभावित भएको छ ।

























