नवलपुर

कावासोतीमा सरसफाइसम्बन्धी कार्यशाला

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार २०-

प्रदुषणमुक्त सरसफाइसम्बन्धी एक दिने कार्यशाला आज नवलपुरको कावासोतीमा भएको छ ।

कावासोती नगरपालिका र देवचुली नरपालिकाका जनप्रतिनिधि र सञ्चारकर्मीका लागि वातावरण पत्रकार मञ्च नवलपुरले गरेको कार्यशालामा खानेपानीको सरसफाइ, वातावरण सरसफाइ र फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइएको थियो ।
अहिले स्थानीय सरकार भनेकै जनप्रतिनिधि भएकाले सरसफाइका क्षेत्रमा जनप्रतिनिधिले नै तत्परता देखाउन आवश्यक रहेको र पत्रकारले पूर्णसरसफाइका विषयमा निरन्तर कलम चलाएर सचेतना र खबरदारी गर्नु पर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वातावरण पत्रकार मञ्च नवलपुरका अध्यक्ष शालिकराम कोइरालाले बताए ।

कार्यशालामा हुप्सेकोट खानेपानी शाखाका प्राविधिक गणेशबहादुर ठकुरीले पानीको महत्व र स्रोतहरुबारेमा जानकारी प्रदान गरेका थिए । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा सबैभन्दा बढी पाइपबाट वितरित पानीको स्रोत ४८.३ प्रतिशत रहेको ठकुरीले जानकारी दिए । यस्तै ट्युबवेल ३८.६ प्रतिशत, इनार १६.९ प्रतिशत र अन्य ३.२ प्रतिशत पानीको स्रोत रहेको ठकुरीले जानकारी दिए । यी स्रोतहरुलाई सबैभन्दा बढी मानविय कारण प्रदूषित बनाइरहेको ठकुरीले बताए । पानीका स्रोतहरु नजिकै दिशापिसाब गर्ने, कपडा धुने, नुहाउने, कीटनाशक औषधि छर्ने, पशुलाई आहाल बसाल्ने जस्ता क्रियाकलापले गर्दा पानीका स्रोत प्रदूषित हुने गरेको ठकुरीले बताए । यस्तै कतिपय अवस्थामा प्राकृतिक कारण, वर्षा हुँदा धमिलो पानी आउने, पात पतिङ्कर र जीवजन्तु मरेर कुहिएर पानीका स्रोतमा मिसिदा दूषित हुने गरेको ठकुरीले जानकारी दिए ।

यसैगरी कार्यशालामा डिभिजन वन कार्यालय नवलपुरका डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले प्रदूषणका प्रकार, कारण र रोकथामका उपायलगायतका विषयमा सहजीकरण गर्दै नेपालका शहरी क्षेत्रमा प्रदूषण दिनप्रतिदिन बढ्दै गइरहेकाले समय छँदै रोकथाम नगरे यसको असरले विकराल रुप लिन सक्ने बताए । विषेश गरेर कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सडक किनारका वन क्षेत्रमा जथाभावी फालिएका फोहोरका डंगुरले गर्दा आवतजावत गर्ने यात्रुले नाक थुनेर हिड्नुपर्ने अवस्था आएको बताउँदै, तत्काल यहाँको फोहोरको दिर्घकालीलन व्यवस्थापन गर्न आवश्यक रहेको बताए । वन क्षेत्रमा जथाभावी फालिएको फोहोरले मानव स्वास्थ्यलाई मात्र नभई जंगली जनावारलाई समेत असर पारिरहेको उनले बताए ।

पलास्टिकजन्य फोहोरका कारण जल जमिनलाई नै असर पारिरहेको र जलाउदा वायु प्रदूषणसमेत भइरहेको भन्दै पलास्टिकको प्रयोगलाई सकेसम्म कम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले आफ्नो वडा, गाउँ र नगर स्वच्छ सफा र सुन्दर बनाउने काममा अग्रसर भइरहेको बताएका थिए । समय समयमा सचेतना र सरसफाइका कार्यक्रम गरिरहेको भन्दै नागरिकस्तरबाट पनि सरसफाइमा चासो राख्न आवश्यक रहेकोमा जनप्रतिनिधिहरुले जोड दिए ।

कावासोती वडा नम्बर ११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले कावासोती नरपालिकाको फोहोर दीर्घकालीन रुपमा नै व्यवस्थापन गर्ने काम अघि बढेको बताउँदै आउँदो असोज महिनाभित्रै नगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्ने गरेर काम भइरहेको बताए । कार्यक्रम वातावरण पत्रकार मञ्च नवलपुरका अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>