चितवन विशेष

रत्ननगरको बजेट एक अर्ब, विपन्नको भान्सामा सुधारिएको चुलो

Banner

चितवन, असार १०-

चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि एक अर्ब पाँच करोड ३२ लाख रुपैयाँ बराबरको वजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको मंगलबार सुरु भएको पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब पाँच करोड बराबरको बजेट ल्याएको हो । नगरसभामा उपमेयर विमलादेवी दुवाडीले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि एक अर्ब पाँच करोडको बजेट ल्याउन लागेको बताइन् । उपप्रमुख दुवाडीका अनुसार नेपाल सरकारबाट सशर्त अनुदान २८ करोड २० लाख, समानिकरण अनुदान १९ करोड १३ लाख, राजस्व बाँडफाँडमा ११ करोड ६९ लाख, प्रदेश सरकारबाट समानिकरण अनुदान एक करोड १० लाख, सशर्त अनुदान ४ करोड ९६ लाख, राजस्व बाँडफाँडमा तीन करोड ३१ लाख, सामाजिक सुरक्षा २० करोड आम्दानी हुने अनुमान छ ।

त्यस्तै समपुरक अनुदान दुई करोड, विषेश अनुदान दुई करोड, सडक बोर्डबाट ८० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५० लाख गरी कुल एक अर्ब पाँच करोड रुपैयाँको बजेट रहने उपप्रमुख दुवाडीले बताइन् । क्षेत्रगतरुपमा आर्थिक विकास तर्फ एक करोड २५ लाख, सामाजिक विकासमा एक करोड ९३ लाख, संस्थागत विकास तथा सुशासनमा ३७ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ८७ लाख, पूर्वाधार विकासमा ८ करोड ६७ लाख रहेको उपमेयर विमला दुवाडीले जानकारी दिइन् ।

मेयर नारायण वनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपन्न समुदायको भान्सामा सुधारिएको चुलो निर्माण गर्ने उल्लेख गरिएको छ । साथै नगरपालिकाले नगरवासीले अनुभूति गर्ने गरी टाँडी बजार र सौराहाचोकमा आकाशे पुल र एक वडा एक पुस्तकालय निर्माण गरिने मेयर नारायण वनले बताए । नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधारका रूपमा सौराहा क्षेत्रमा आधुनिक पर्यटन बसपार्क, पर्यटन सूचना केन्द्रको निर्माण, नगर प्रमुखसँग उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

नगरपालिकामा सम्भावनाको क्षेत्रको रूपमा रहेको कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिँदै एक अत्याधुनिक शीत भण्डार निर्माण, कृषि सूचना प्रणाली केन्द्रको स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ज्येष्ठ नागरिकलाई दैलोमा नै उपचार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ । गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिँदै पूर्ण सुरक्षित मातृत्व प्राप्त नगरपालिका र कुपोषणमुक्त नगरपालिका निर्माणका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने मेयर वनले जानकारी दिए ।

मानव र वन्यजन्तु बीचको सम्बन्धमा समायानुकुल सुधारका लागि सिमानामा पक्की पर्खाल तथा तारजाली लगाउने र जंगल सिमानासँग जोडिएका बस्तीका विशेष गरी वडा नं. ५, ६, ७, ८, ९ र ११ का बासिन्दालाई जीवन बिमा गरिनेछ । नगरबासीहरुको खरको छानो बिस्थापित गरी टिनको छानो, शौचालय नहुने नगरबासीलाई शौचालयको व्यवस्था गर्ने, गरिब र बिपन्न घरधुरीलाई सुधारिएको चुल्हो वितरण गर्ने, सबै वडामा एकीकृत पुस्तकालय, खोपकेन्द्र र पार्कको व्यवस्था गरिनेछ । स्वास्थ्यको क्षेत्रमा वृद्धवृद्धा, आर्थिक स्थिति कमजोर भएका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल लैजादा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने मेयर वनले बताए । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संशोधनसहित पारित भएको नगरप्रवक्ता राजेन्द्र हमालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>