समाचार

पहाडमा प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन: मन्त्री महासेठ

Banner

काठमाडौँ, असार ९-

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पहाडी क्षेत्रमा सडकको दूरी कम गर्न आगामी आर्थिक वर्षदेखि विशेष प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गर्ने कार्यक्रम राखिएको बताएका छन्।

विनियोजन विधेयक, २०७६ अन्तर्गत उक्त मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुरुङमार्गका लागि एकमुष्ट ६५ करोड छुट्याइएको जानकारी दिए । धेरै ठाउँमा सुरुङमार्गको अध्ययन गरिने कार्यक्रम राखिएको तर यससम्बन्धी प्रविधि नभएकाले अन्तको सिकाइबाट काम गर्न लागिएको बताउँदै मन्त्री महासेठले ८० वटा सडकलाई राष्टिय राजमार्ग घोषणा गरी प्राथमिकतासाथ काम गरिने जानकारी दिए।

सीमित स्रोत र साधनबीच तालमेल मिलाएर काम गरिने, गुणस्तरलाई विशेष ध्यान दिइने, अधुरा पुल निर्माणमा प्राथमिकता दिइने, अधुरा योजना प्रदेशमा गएकामा निर्माण गर्न नसक्ने भनी लिखित प्रतिवेदन आए केन्द्रीय सरकारले नै काम गर्ने उनले प्रतिबद्धता जनाए । एक हजार ७९२ किमीको हुलाकी राजमार्गमध्ये २५२ किमी कालोपत्रे भएको, आगामी आवमा मध्यपहाडी राजमार्गको बाँकी कामको बोलपत्र गरिने, २४८ किमी लामो सडक निर्माण अघि बढाइ आव २०७८÷७९ मा सम्पन्न गरिने, मध्यपहाडी लोकमार्ग पनि आव २०७८÷७९ मै सम्पन्न गर्ने गरी काम अघि बढाइने मन्त्री महासेठले बताए ।

मदन भण्डारी राजमार्ग एक हजार २०० किमीमध्ये धरान हेटौँडाको काम भइरहेको, महेन्द्र राजमार्ग विस्तार अघि बढाइएको, शहरी क्षेत्रमा छ लेन र अन्य स्थानमा चार लेनमा बाटो विस्तार गर्न बजेटको व्यवस्था गरिएको उनले भने । काठमाडौँ–रक्सौल रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन गरिएको, काठमाडौँ–स्याफ्रुबेँसी रेलमागको पनि पूर्व सम्भाव्यता अध्ययन गरी विस्तृत अध्ययनको चरणमा रहेको मन्त्री महासेठले जानकारी दिए ।
‘सार्वजनिक यातायातलाई कम्पनीमा दर्ता गरिसकिएको, तीन महिनामा सबैले स्मार्ट कार्ड पाउने व्यवस्था गरिएको, सडक सुरक्षामा विशेष ध्यान दिनेगरी कार्यक्रम र बजेटको व्यवस्था गरिएको छ भने कोशी र गण्डकी नदीमा जलमार्गको पूर्व सम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षमा हुन्छ’, उनले भने।

एक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक निर्माण गरिने, बजेट बनाउँदा क्रमागत सडक छुटेको भए समावेश गरिने नीति रहेको, प्रदेश वा सङ्घ जुनसुकैको भए पनि कुनैपनि अधुरो योजना बाँकी नराखिने र कालीगण्डकी तथा त्रियुगा नदीमा छुट भएको पुल आगामी योजनामा समावेश गरिने मन्त्री महासेठले जानकारी दिए । सांसदहरूले खर्च कटौतीको प्रस्ताव राखेकोमा त्यसलाई फिर्ता लिई सहयोग गर्न उनले अनुरोध गरे । मन्त्री महासेठको जवाफपछि सांसद डिला सङ्ग्रौला पन्तले सुरुङ मार्ग अघि बढाउन सरकारको के कार्यक्रम छ भनी जिज्ञासा राखिन् । सडक गुणस्तरीय नबन्दा दुर्घटना बढेको उनले बताइन्। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>