नवलपुर
महंगी र भ्रष्टाचार विरुद्ध नवलपुरमा नेकपा मसालले घोषणासभा गर्ने

नवलपुर, असार ५
नेपाल कम्युनिस्ट पार्टी मसालले असार ७ गते नवलपुरको कावासोतीमा घोषणासभा आयोजना गर्ने भएको छ ।
राष्ट्रिय जीवनमा देखिएको चर्को महंगी, बढ्दो भ्रष्टाचार, महिला हिंसा, बेरोजगारी, विदेशी हस्तक्षेपको विरोधमा घोषणासभा गर्न लागेको मसालले जनाएको छ । त्यस्तै सभामा पार्टीले भर्खरै सम्पन्न गरेको आठौं महाधिवेशनले समसामयिक सबालमा बनाएको नीतिका सम्बन्धमा पनि आम समुदायलाई जानकारी दिने उद्देश्य राखेको छ ।
पार्टीको केन्द्रीय कार्यक्रमअन्र्तगत देशव्यापी रुपमा सबै जिल्लामा कार्यक्रम सञ्चालन हुने नेकपा मसाल नवलपुरका पार्टी प्रवक्ता लेखनाथ पौडेलले जानकारी दिएका छन् । पार्टीको भर्खरै सम्पन्न आठौं महाधिवेशनले आगामी दिनमा गणतन्त्र, राष्ट्रियता र अखण्डताको रक्षा, संघीयताको खारेजी, चर्को महंगी, बढ्दो भ्रष्टाचार, महिला हिंसा, बेरोजगारी विदेशी हस्तक्षेपबारे लिएको नीति सम्बन्धमा आम नेपाली जनतालाई जानकारी दिनसमेत सहयोग पुग्ने बताइएको छ । नवलपुरको कावासोतीमा हुने कार्यक्रममा जिल्ला प्रवक्ता लेखनाथ पौडेललगायत पार्टीका नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।