चितवन विशेष

चितवनमा सडक दुर्घटना : मृत्यु हुनेमा मोटरसाइकलबाट सबैभन्दा बढी

Banner

चितवन जेठ २१-

जिल्लामा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ ।

साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका १२९ मध्ये ६५ जनाको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, चालू आवमा भएका दुर्घटनामा परी निधन भएकामध्ये ५३ जना स्वयम् मोटरसाइकलमा रहेका थिए । मोटरसाइकलले ठक्कर दिएर नौ जना पैदल यात्रीको मृत्यु भएको छ भने तीन जना साइकल यात्रीले मोटरसाइकलकै ठक्करबाट ज्यान गुमाएका छन् । कार्यालयले मोटरसाइकल आफँैमा मात्र होइन अरूका लागि पनि असुरक्षित सवारी देखिएको जनाएको छ ।

उक्त अवधिमा २५३ वटा सवारी दुर्घटना भएका छन् । जसमा ३९२ सवारी साधन परेका थिए । ती दुर्घटनामा १७८ वटा मोटरसाइकल परेको कार्यालयले जनाएको छ । यसैगरी दुर्घटना पर्नेमा दोस्रो स्थानमा ट्रक÷ट्याङ्कर रहेका छन् । ६५ वटा ट्रक÷ट्याङ्कर दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कमा देखाएको छ ।

त्यसैगरी बस, जीप, कार, तीनपाङ्ग्रे सवारी, ट्याङ्कर, टिप्पर, माइक्रोबस दुर्घटनामा परेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार अधिकांश मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुने गरेको छ । साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गतिका कारण दिनहुँ दुर्घटना हुने गरेको उनले बताए ।

मोटरसाइकल दुर्घटनामा पर्नेहरु २० देखि ४० वर्ष उमेरसमूहका रहेको गिरीले जानकारी दिए । ठाउँठाउँमा सवारी चेकजाँच, जनचेतनाका कार्यक्रमसँगै गति परीक्षणका लागि उपकरण मगाउने काम पनि भइरहेको उनको भनाइ छ । कार्यालयले स्कूल–कलेजहरुका विद्यार्थीहरुलाई लक्षित गरी ट्राफिक जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>