चितवन विशेष
भरतपुरमा निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दबाब दिने सर्वदलीय बैठकको निर्णय

चितवन, कात्तिक १२-
निजी विद्यालयहरूले गरेको ३० प्रतिशत शुल्क वृद्धिको विषयलाई लिएर भरतपुर महानगरपालिकाभित्र क्रियाशील राष्ट्रिय राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ।
नेपाली कांग्रेस भरतपुर महानगर कार्यसमितिका सभापति बुद्दिकान्त न्यौपानेको संयोजकत्वमा सम्पन्न बैठकले निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता गराउन दबाब दिने सर्वसम्मत निर्णय गरेको छ। बैठकले अभिभावक तथा विद्यार्थीमाथि थप आर्थिक भार पर्ने गरी गरिएको शुल्क वृद्धि फिर्ता गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आवश्यक दबाब सिर्जना गर्ने निर्णय गरेको न्यौपानेले जानकारी दिए।
निजी विद्यालयहरूको शुल्क वृद्धिको विषयमा अभिभावक तथा सरोकारवालाहरूको चासोलाई सम्बोधन गर्दै शुल्क वृद्धि फिर्ता गराउन राजनीतिक दलहरू एकजुट भएर अघि बढ्ने बैठकको निष्कर्ष रहेको छ।
सर्वदलिय बैठकमा नेपाली कांग्रेस सहित राष्ट्रिय स्वतन्त्र पार्टि भरतपुर महानगर सभापति सिता ज्ञवालि, नेकपा एमाले भरतपुर महानगर अध्यक्ष शंकर थपलिया, नेपाली कम्युनिष्ट पार्टी भरतपुरका संयोजक इश्वर सापकोटा सुमन, राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुरका वरिष्ठ उपाध्यक्ष शिव शंकर उप्रेति र श्रम संस्कृति पार्टी भरतपुर महानगरका अध्यक्ष प्रकाश कंडेलको उपस्थिति रहेको थियो ।























