Breaking News

भारतको पूर्वी तटमा चक्रवात ‘अर्नब’ का कारण ७ जनाको मृत्यु, एक लाख ८० हजारलाई सुरक्षित स्थानमा सारियो

०
Banner

काठमाडौँ , कात्तिक १२ –

भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण कम्तीमा सात जनाको मृत्यु भएको छ । चक्रवातले घर, सडक, विद्युत् संरचना र कृषि बालीमा व्यापक क्षति पुर्‍याएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशमा मात्रै एक लाख ८० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार बुधबार बिहान भारतको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवात सुरुमा ‘अति शक्तिशाली चक्रवाती आँधी’ को अवस्थामा थियो । स्थलभागतर्फ अघि बढ्दै जाँदा यसको शक्ति घटेर ‘शक्तिशाली चक्रवाती आँधी’ मा सीमित भएको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।

आन्ध्र प्रदेशको विपद् व्यवस्थापन निकायका अधिकारीहरूका अनुसार बुधबार बिहानसम्म हावाको गति प्रतिघण्टा १३५ किलोमिटर पुगेको थियो ।

आन्ध्र प्रदेश र यानम तटमा ठोक्किएपछि चक्रवात ‘अर्नाब’ कमजोर बन्दै गएको छ । यद्यपि, यसको प्रभावका कारण छिमेकी राज्यहरू ओडिशा, पश्चिम बंगाल, र उत्तर प्रदेशमा भारी वर्षाको चेतावनी मौसम विभागले चेतावनी दिएको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन.चन्द्रबाबु नायडूले राज्यका १४ तटीय जिल्ला चक्रवातबाट नराम्ररी प्रभावित भएको बताएका छन् । तीव्र हावा र भारी वर्षाले घर, सडक सञ्जाल, विद्युत् खम्बा तथा विद्युत् आपूर्ति प्रणालीमा व्यापक क्षति पुर्‍याएको उनले बताए ।

क्षतिको व्यवस्थापन र उद्धारका लागि उनले केन्द्र सरकारसँग तत्काल सहयोग मागेका छन् । चक्रवातका कारण करिब ७९ हजार एकड क्षेत्रफलमा लगाइएको कृषि बालीमा क्षति पुगेको छ । दर्जनौँ घरसमेत प्रभावित भएका छन् । राज्यको कोनासीमा जिल्ला सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये परेको छ । त्यहाँ केरा र नरिवलका बगैँचामा ठूलो क्षति पुगेको छ ।

धेरै रुख तथा बिजुलीका खम्बा ढलेपछि जिल्लाका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् । विशाखापट्टनमका केही होचा भूभागमा वर्षाको पानी जमेर बाढी आएको छ । मौसम विभागले आन्ध्र प्रदेशको तटीय क्षेत्र र छिमेकी ओडिशा राज्यका केही भागमा भारी वर्षा तथा तीव्र हावाको प्रभाव जारी रहने जनाएको छ ।

चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले तटीय तथा बाढीको उच्च जोखिममा रहेका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्न थालेका थिए । भारी वर्षा र तीव्र हावा चल्न थालेपछि केही रेल सेवा समेत रद्द गरिएका थिए ।

त्यसैगरी, भारतीय नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्ध्र प्रदेशका तीन वटा विमानस्थलमा उडान सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो । भुवनेश्वर विमानस्थलका निर्देशक प्रसन्न प्रधानका अनुसार सामान्य उडानहरू सञ्चालनमा रहे पनि भुवनेश्वर–जयपुर–विशाखापटनम रुटको ९ सिटे विमान सेवा भने रद्द गरिएको छ ।

आन्ध्र प्रदेशमा २० जिल्लामा दुई हजारभन्दा बढी चक्रवात आश्रयस्थल स्थापना गरिएको छ । राज्यको विपद् व्यवस्थापन निकायका प्रमुख प्रखर जैनका अनुसार लाखौँ बासिन्दाको मोबाइल फोनमा आपत्कालीन चेतावनी पठाइएको थियो । तटीय क्षेत्रमा रहेका ३० हजारभन्दा बढी माछा मार्ने डुङ्गालाई सुरक्षित स्थानमा राखिएको छ भने प्रभावित क्षेत्रमा आपत्कालीन उपचारका लागि करिब एक हजार १०० स्वास्थ्य टोली परिचालन गरिएको छ ।

विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार चक्रवातको सम्भावित मार्गमा पर्ने क्षेत्रमा एक करोड २० लाखभन्दा बढी मानिस बसोबास गर्छन् । छिमेकी ओडिशा राज्यमा पनि जोखिममा रहेका क्षेत्रबाट करिब ४८ हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको थियो ।

यसैबिच, नेपालमा पनि भारी वर्षा, चट्याङ र मेघगर्जन हुन सक्ने भन्दै विपद् व्यवस्थापन निकायले सतर्कता अपनाउन आग्रह गरेको छ । पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान सुझाव दिइएको छ । वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनीसमेत दिइएको छ । नेपाल यसअघि भदौमा आएको विनाशकारी बाढीपहिरोबाट भएको क्षतिबाट अझै पूर्ण रूपमा तङ्ग्रिन सकेको छैन । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>