चितवन विशेष

चितवन रामपुरको कृषि विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने

Banner

चितवन जेठ २१-

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन लागेको हो ।विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्नातकको एग्री इञ्जिनीयरिङका लागि रामपुरमै सम्पूर्ण तयारी पूरा गरिएको छ । हर्टिकल्चर रामपुरमा वा बाहिर कहाँ चलाउने भन्ने विषयमा छलफल भइरहेको छ । त्यसैगरी डेरी टेक्नोलोजी विषयका लागि पनि सबै तयारी पूरा भएको छ भन्दै उनले आउँदो शैक्षिकसत्रबाट ती सबै विषयको अध्यापन गराइने बताए ।

ती विषयकोे पाठ्यक्रम तयार भइसकेका छन् । विसं २०६७ असार ३ गते स्थापना भएको उक्त विश्वविद्यालयमा हाल स्नातक, स्नातकोत्तर र विद्यावारीधिमा कृषि, भेटेनरी, पशु विज्ञान, मत्स्य विज्ञान र वनको पढाइ हुँदै आएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित छ आङ्गिक क्याम्पस सञ्चालन हुँदै आएका छन् । कास्कीको पुरनचौर, सिन्धुलीको कपिलाकोट, धनकुटाको पाख्रिबास, कैलालीको टीकापुर, महोत्तरीको वर्दिबासमा कृषि स्नातक र उदयपुरको कटारीमा वन स्नातकको पढाइ हुँदै आएको छ । उनका अनुसार रोल्पाको माडीचौर र बाँकेको खजुरामा आउँदो शैक्षिकसत्रदेखि आङ्गिक क्याम्पस सञ्चालन गरिँदैछ । ती दुवै ठाउँको जमीन विश्वविद्यालयको नाममा आएको र सबै तयारी पनि पूरा भइसकेको छ । सुर्खेतमा वन र सर्लाहीमा कृषि स्नातकका लागि आवश्यक प्रक्रिया अघि बढेको उपकुलपति प्रा डा ढकालले बताए । हाल विश्वविद्यालयमा ९२ विद्यावारीधिसहित ३ हजार ७७० विद्यार्थी अध्ययनरत छन् । उक्त विश्वविद्यालयका दोस्रो उपकुलपति ढकालले आफूले जिम्मेवारी सम्हालेपछि विद्यार्थी तीन गुना थप भएको बताए ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>