राजनीति
कुमार बेनलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी

काठमाडौं, मंसिर ८-
प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाको मोबाइलबाट डिजिटल प्रमाण मेटाइएको र अनुसन्धान प्रभावित पारिएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।
नेपाली कम्युनिष्ट पार्टी निकट योङ कम्युनिष्ट लिग (वाईसीएल) का केन्द्रीय सचिव धनबहादुर वलीले बेनसहित प्रधानमन्त्री तथा गृहमन्त्रीको सचिवालयका कर्मचारीमाथि अनुसन्धान र कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।
सुर्खेतका वलीले जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी पठाएका छन्। यसअघि सोमबार जाहेरी दिन प्रहरी परिसर पुगे पनि प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि उनले हुलाकबाट पठाएका हुन्।
जाहेरीमा प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बेन, प्रधानमन्त्री सचिवालयका विशाल अधिकारी र चिराग श्रेष्ठ तथा गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीको संलग्नताबारे अनुसन्धान गर्न माग गरिएको छ।
वलीले प्रहरी हिरासतमा रहेका झापाका इनम सापकोटाको मोबाइलमा रहेका अनुसन्धानसँग सम्बन्धित डिजिटल प्रमाण अनधिकृत रूपमा मेटाइएको, परिवर्तन गरिएको वा लुकाइएको आरोप लगाएका छन्। सापकोटामाथि सुरुमा अभद्र व्यवहार र पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको थियो।
जाहेरीसँगै पेस गरिएको फरेन्सिक ल्याबको परीक्षण रिपोर्टका विवरण उद्धृत गर्दै वलीले सापकोटाको मोबाइल असोज १५ गते दिउँसो ४ बजेर ३० मिनेट ४५ सेकेन्डमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुर्याइएको दाबी गरेका छन्।
सोही दिन साँझ ५ बजेर १० मिनेट १८ सेकेन्डमा सिंहदरबारको दक्षिण गेटबाट बाहिर निकालिएको र ५ बजेर २५ मिनेट ५ सेकेन्डमा ललितपुरको कुपण्डोलस्थित ज्वागलमा रहेको बेनको घरमा पुर्याइएको दाबी पनि जाहेरीमा गरिएको छ।
प्रधानमन्त्री सचिवालयका विशाल अधिकारी प्रहरीको सोधपुछ कक्षमै पुगेर सापकोटामाथि भइरहेको अनुसन्धानबारे कुराकानी गरेको भिडियो सार्वजनिक भएको विषयलाई समेत जाहेरीमा समेटिएको छ।
























