देश/प्रदेश
‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्दै, फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो’

काठमाडौं , मंसिर ५ –
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् ।
थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी)का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किनुभएको उहाँले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिए ।
मन्त्री पोखरेलका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन्। निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ ।
‘अब फिफाले नै एन्फा निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढाउँछ । तहगत निर्वाचनको हकमा पनि डिसेम्बरसम्ममा रोडम्यापको प्रस्ताव लिएर आउने भन्नुभएको छ,’ उनले भने ।
एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुंगिन बाँकी रहेको पनि उनले बताए ।
‘तहगत निर्वाचन गर्ने भन्नेमा सहमति भएको हो । कुन मोडालिटीमा गर्ने, कस्तो गर्ने र कहिले गर्ने भन्ने विषयमा टुंगिन बाँकी छ,’ पोखरेलले भने ।
उनका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई थर्ड पार्टी इन्टरफेरेन्सु का रूपमा बुझेको थियो। तर, सरकारले नेपालको आफ्नै कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको उनले बताए ।
























