सर्लाही

अदालतको आदेशविपरीत घर भत्काएको घरधनीको आरोप

०
Banner

सर्लाही , मंसिर ५-

सर्लाहीको कौडेना गाउँपालिका–१, सुखचैनाका घरधनीहरूले कानुनी प्रक्रिया र अदालतको आदेशविपरीत गाउँपालिकाले आफ्नो निजी जग्गामा बनेका घर डोजर लगाएर भत्काएको आरोप लगाएका छन् ।

शुक्रवार मलंगवामा पत्रकार सम्मेलन गर्दै पीडित घरधनीहरूले पुस्तौँदेखि भोगचलन गर्दै आएको निजी जग्गामा निर्मित घर गाउँपालिकाले जबर्जस्ती भत्काएको बताएका हुन् । गाउँपालिकाले गत मंसिर २ गते सुखचैनास्थित शिव मन्दिरको जग्गा अतिक्रमण गरी घर निर्माण गरिएको भन्दै ६ जनाको घरमा डोजर चलाएको थियो । तर, घरधनीहरूले उक्त जग्गा आफ्नो निजी स्वामित्वमा रहेको दाबी गर्दै गाउँपालिकाको निर्णय र कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

पत्रकार सम्मेलनमा कृष्णदेव साहले आफ्नो परिवारले पुस्तौँदेखि उक्त जग्गा भोगचलन गर्दै आएको र त्यसको स्वामित्व पुष्टि गर्ने जग्गाधनी प्रमाणपुर्जा, नापी नक्सालगायत कागजात आफूसँग सुरक्षित रहेको बताए । उनका अनुसार २०४० सालदेखि नै उक्त जग्गासम्बन्धी अभिलेख तथा प्रमाण उपलब्ध छन् ।

जग्गासम्बन्धी विवाद अदालतमा पुगेको र आफूहरूको पक्षमा फैसला आएको साहले दाबी गरे । उच्च अदालतबाट परमादेश जारी हुनुका साथै घर भत्काउने कार्य रोक्न अन्तरिम आदेशसमेत प्राप्त भएको अवस्थामा गाउँपालिकाले अदालतको आदेशको अवज्ञा गर्दै घर भत्काएको उनको आरोप छ ।

‘हामीले आफ्नो जग्गाको प्रमाणसहित पटक–पटक गाउँपालिकामा निवेदन दिएका थियौँ । अदालतबाट समेत स्टे अर्डर ल्याएका थियौँ । तर हाम्रो कुरा सुनुवाइ भएन । अदालतको आदेश हुँदाहुँदै पनि घरमा डोजर चलाइयो,’ उनले भने ।

अर्की घरधनी उषा देवीले लामो समयको मेहनत र परिश्रमबाट निर्माण गरेको घर भत्काइएपछि आफूहरू पीडामा परेको बताइन् । घरधनीहरूले आफूहरू शिव मन्दिरको जग्गा अतिक्रमण गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उक्त जग्गा वास्तवमै मन्दिरको भएको प्रमाणित भए स्वेच्छाले जग्गा उपलब्ध गराउन तयार रहेको उनीहरूको भनाइ छ । तर, निजी स्वामित्वको जग्गालाई मन्दिरको नाममा विवादित बनाएर राजनीतिक स्वार्थका लागि घर भत्काइएको उनीहरूको आरोप छ ।

उनीहरूले गाउँपालिका अध्यक्ष, वडा अध्यक्षलगायत जनप्रतिनिधिको मिलेमतोमा आफूहरूमाथि अन्याय भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति र न्यायको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>