देश/प्रदेश
न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

काठमाडौं , मंसिर ५ –
एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । एमसीए–नेपालले मंसिर ४ गतेदेखि तनहुँ र पाल्पा जिल्लाबाट प्रसारण लाइन निर्माणको काम प्रारम्भ गरेको हो ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइनमध्ये न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटरको हुनेछ । यस खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिने एमसीए–नेपालले जनाएको छ ।
यो प्रसारण लाइन निर्माणले नेपालको विद्युत् प्रसारण सञ्जाल विस्तार तथा ऊर्जा सुरक्षामा योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै, जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न र विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माणाधीन प्रसारण सञ्जालले देशको विद्युत् प्रसारण क्षमता विस्तार गर्नुका साथै भविष्यमा उत्पादन हुने विद्युत्को आन्तरिक खपत तथा अन्तरदेशीय विद्युत् व्यापारका लागि समेत पूर्वाधार उपलब्ध गराउने लक्ष्य राखेको छ ।
























