Breaking News
जिल्ला सुरक्षा समितिको अनुमति नै नलिई नारायणी किनारमा महोत्सवको तयारी

चितवन, कात्तिक ३०-
नारायणी नदी किनारमा मंसिर २ गतेदेखि सञ्चालन हुन लागेको महोत्सवले अहिलेसम्म जिल्ला सुरक्षा समितिबाट अनुमति नलिएको पाइएको छ । जिल्ला सुरक्षा समितिबाट अनुमति नलिई कुनै पनि भीडभाडजन्य गतिविधि गर्न पाइँदैन । अनुमति नलिई महोत्सव सुरु गरिए तत्कालै एक्सन लिने समितिले जनाउ दिएको छ ।
जिल्ला सुरक्षा समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले महोसत्व आयोजकले अहिलेसम्म अनुमति नलिएको पुष्टि गरेका हुन् । ‘नारायणी किनारमा हुने भनिएको महोत्सवले अहिलेसम्म अनुमति लिएको जानकारी छैन’, सिडिओ अर्यालले भने ।
विवादास्पद कम्पनी रेड रक नेपालले गत वर्ष पनि नारायणी किनारमै महोत्सव आयोजना गरेको थियो । सोहि बेला रत्ननगर महोत्सव र गैंडाकोट महोत्सव सञ्चालन हुने भएपछि रेड रक नेपालले मागेको समयमा महोत्सव गर्न जिल्ला सुरक्षा समितिले अनुमति दिएन । गत वर्ष आफुले मागेको समयमा महोत्सव गर्न नपाएपछि रेड रक नेपालका प्रतिनिधिले सिडिओको तत्कालै सरुवा गराइदिनेदेखि सिडिओको ‘काउन्ट डाउन’ सुरु भएकोसम्म चेतावनी दिएका थिए । तर रेड रक नेपालको दुर्भाग्य भनौँ, यो पटक महोत्सव गर्दा पनि चितवनको सिडिओ गणेश अर्याल नै छन् ।
गत वर्ष रेड रक नेपालसँग विवाद भएपछि जिल्लाका पालिकाहरु र जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो । बैठकमा जिल्ला सुरक्षा समितिबाट अनुमति लिएपछि मात्रै स्थानीय तहले मेला महोत्सव सञ्चालन गर्न दिने सहमति भएको थियो । तर भरतपुर महानगरपालिकाले यस आवमा महोत्सव गर्न गत आर्थिक वर्षमै अनुमति दिएको पाइएको छ । महानगरबाट अनुमति दिँदा आर्थिक चलखेल भएको हुन सक्ने आशंका पनि गरिएको छ ।
मेला महोत्सव गर्दा भीडभाड हुने हुँदा हुलदंगा हुन सक्ने सम्भावना रहन्छ । साथै ट्राफिक व्यवस्थापन पनि भद्रगोल हुन्छ । यस्तो अवस्थामा सुरक्षा प्रदान गर्ने र ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिको रहन्छ । त्यहि समितिबाट अनुमति नै नलिई महोत्सव गर्ने तयारी भइरहँदा महोत्सवको भविष्य नै के हुन्छ भन्ने अन्यौलता बढेको छ ।
























