प्रवास

फ्रान्समा सरकारविरुद्ध देशव्यापी आमहडताल र प्रदर्शन, दुई लाख ७० हजारभन्दा बढी सडकमा

०
Banner

काठमाडौँ,कात्तिक १९ –

बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवामा लगानी कटौतीको विरोध गर्दै फ्रान्समा बिहीबार देशव्यापी आमहडताल र विशाल प्रदर्शन भएका छन्।

देशका झन्डै २०० स्थानमा आयोजित प्रदर्शनमा राजधानी पेरिसबाहेक मात्रै दुई लाख ७० हजारभन्दा बढी मानिस सहभागी भएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ।

प्रदर्शनका क्रममा लियोँ र नान्त सहरमा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ। लियोँमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो। केही प्रदर्शनकारीले प्रहरीतर्फ वस्तु प्रहार गरेका थिए भने एउटा कारमा आगजनीसमेत भएको थियो। नान्तमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रदर्शनका कारण यातायात, शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक सेवा प्रभावित भएका छन्। निर्धारित रेल सेवामध्ये करिब ४० प्रतिशत रद्द भएका छन्। हडतालका कारण पर्यटकको प्रमुख आकर्षण एफिल टावरसमेत बिहीबार बन्द गरिएको छ।

फ्रान्सका प्रमुख ट्रेड युनियनहरूको संयुक्त मोर्चा ‘लाँतेरसिन्डिकाल’ले आमहडताल आयोजना गरेको हो। उनीहरूले न्यूनतम ज्याला तत्काल वृद्धि गर्न र पेन्सन सुविधा सुधार गर्न माग गरेका छन्।

सबैभन्दा ठुलो श्रमिक सङ्गठन सीजीटीले न्यूनतम ज्याला १० प्रतिशत तत्काल बढाउन माग गरेको छ। अर्को प्रमुख सङ्गठन सीएफडीटीले मासिक न्यूनतम ज्यालामा १०० युरो वृद्धि गर्नुपर्ने माग गरेको छ। सरकारले नोभेम्बर १ देखि लागू गरेको न्यूनतम ज्याला वृद्धिले मासिक आम्दानीमा जम्मा १५ युरो मात्रै थपिने भन्दै श्रमिक सङ्गठनहरूले असन्तुष्टि जनाएका छन्।

विद्यार्थी सङ्गठनहरूले शिक्षा बजेटमा १० अर्ब डलरभन्दा बढी वृद्धि, विद्यालय पूर्वाधारमा डेढ अर्ब डलर लगानी र विश्वविद्यालयमा थप दुई लाख ५० हजार विद्यार्थीका लागि स्थान सिर्जना गर्न माग गरेका छन्।

सन् २०१८ मा उदाएको ‘येलो भेस्ट’ आन्दोलन पनि प्रदर्शनमा सहभागी भएको छ। उक्त आन्दोलनले राष्ट्रपति इम्यानुएल म्याक्रोँ र उनको सरकारको राजीनामा तथा नयाँ संवैधानिक प्रक्रियाको माग गरेको छ। आन्दोलनले आर्थिक असमानताको पनि विरोध गर्दै आएको छ।

प्रदर्शनमा ‘ब्ल्याक ब्लक’ भनिने कालो पहिरन र मुखौटा लगाएका समूहको उपस्थिति पनि देखिएको छ। फ्रान्सेली अधिकारीहरूका अनुसार यस्ता समूहले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने प्रयास गर्दै आएका छन्। लियोँमा मात्रै करिब ८०० ब्ल्याक ब्लक प्रदर्शनकारी रहेको प्रहरीको अनुमान छ।

यसैबिच, टुलुज सहरनजिकै एउटा विद्यालयमा आगजनी भएको छ। आतिशबाजीका सामग्री प्रहार भएपछि विद्यालय परिसरमा आगो लागेको र विद्यार्थी तथा कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको फ्रान्सका शिक्षामन्त्री एडुआर गेफ्रेले बताएका छन्।

फ्रान्समा जारी प्रदर्शन युरोपका अन्य देशमा देखिएको महँगी र सार्वजनिक सेवासम्बन्धी असन्तुष्टिको लहरसँग पनि जोडिएको छ। बिहीबार ग्रीसको राजधानी एथेन्समा पनि विद्यार्थी तथा शिक्षकहरूले निःशुल्क सार्वजनिक शिक्षा, सुरक्षित विद्यालय भवन र बढ्दो आवास तथा खाद्यान्नको मूल्यविरुद्ध प्रदर्शन गरेका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>