देश/प्रदेश
तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

काठमाडौं,कात्तिक १७-
काठमाडौं महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणका लागि महानगरभित्रका विभिन्न ३३ स्थान तोकेको छ । महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक लगाउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री वितरणका लागि निश्चित स्थान तोकेको हो । महानगरले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री वितरण नगर्न पनि आग्रह गरेको छ ।
महानगरका अनुसार प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ ।
महानगरले नयाँ बानेश्वर, शंखमूल, चाबहिल, बत्तीसपुतली, तीनकुने, सिफल, स्वयम्भू, कालीमाटी, कलङ्की, माछापोखरी, महाराजगन्ज, गोङ्गबु, बालुवाटार, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा र न्युरोनलगायतका क्षेत्रमा बिक्री स्थल तोकेको छ ।
त्यस्तै, हाँडीगाउँ, सामाखुसी, टेबहाल मन्दिर परिसर, लगन, जैसीदेवल र भृकुटीमण्डपलगायतका स्थानमा पनि फूल तथा माला बिक्री गर्न सकिने महानगरले जनाएको छ ।
महानगरपालिकाले स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई व्यवस्थित बनाउन सम्बन्धित व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई तोकिएका स्थानको प्रयोग गर्न अनुरोध गरेको छ ।
























